काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक सुरु भएको छ। बैठक जसपाको संसदीय दलको कार्यालय सिंहदरबारमा सुरु भएको हो।
बैठक बिहान ११ बजे बोलाइएको भएपनि अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पुग्न ढिला भएपछि बैठक अबेर सुरु भएको हो।
बैठकले संसदीय दलको नेता चयन गर्नेछ। निर्वाचन आयोगबाट जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले आधिकारिकता पाएपछि दलको नेता चयन गर्न लागिएको हो।
निर्वाचनको एउटा प्रक्रिया पूरा गर्नु पर्ने भएकाले दलको नेता चयन गर्न लागिएको जसपा नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए। दलको नेतामा सर्बसम्मतिले अध्यक्ष यादव चयन हुने भएका छन्।
जसपा एक भए पनि संसदीय दलको विधान बन्न नसक्दा दलको नेतामा महन्थ ठाकुर राजपा र उपेन्द्र यादव समाजवादी पार्टीको दलका नेता थिए। जसपा आधिकारिकता उपेन्द्रले पाएपछि पुनः दलको नेता चयन प्रक्रियामा जाने लागेको हो।
जसपामा उपेन्द्रपक्षमा २२ सांसद छन्। बाँकी १० सांसद महन्थतिर लागेका छन्। आजको बैठकमा २१ जना सांसद सहभागी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।