काठमाडौं– नेकपा (एमाले) का नेता तथा सांसद मेटमणि चौधरीले केपी शर्मा ओलीलाई अध्यक्ष मानेर पार्टीमा बस्न नसकिने बताएका छन्। वरिष्ठ नेता माधव नेपाल पक्षधर चौधरीले आफूहरुले अर्को पार्टी निर्माण गर्ने पनि बताएका छन्।
शुक्रबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै नेता चौधरीले ओलीलाई अध्यक्ष मानेर निर्वाचनमा जाँदा १६५ निर्वाचन क्षेत्रमध्ये कुनैपनि निर्वाचन क्षेत्रमा जित्न नसकेर समाप्त हुने पोजिसन आउनसक्ने पनि बताए। नेता चौधरीले सबै ठाउँमा हार्ने अवस्था हुँदा हुँदै आफूहरुले त्यो 'रिस्क' मोल्न नचाहेको टिप्पणी गरे।


'यदि हामीले अर्को पार्टी निर्माण गर्न सकेनौं भने हामी हाम्रो आफ्नै आँखा अगाडि केपी ओली अध्यक्ष रहेको पार्टी समाप्त भएको देख्नेछौं । एमाले १६५ वटा निर्वाचन क्षेत्रमध्ये कुनैपनि निर्वाचन क्षेत्रमा जित्न नसकेर समाप्त भएको त्यो खालको पोजिसन आउनसक्छ। तर, हामी यो रिस्क मोल्न चाहँदैनौं,' चौधरीले भने, 'यसको लागि फेरि पनि बृहत् खालको कम्युनिस्ट पार्टी निर्माण गर्ने, त्यो पार्टी निर्माण गर्नको लागि अहिले जति सकिन्छ नेकपा एमाले भित्रबाट विभाजन गर्ने, पार्टी निर्माण गर्ने, त्यसपछि नेपालमा रहेका जति कम्युनिस्ट पार्टीहरु छन्, माओवादी केन्द्र, विप्लवदेखि लिएर जनमोर्चा, अनि नेपालको कम्युनिष्ट आन्दोलनसँग आईडोलजिकल्ली नजिक रहेको उपेन्द्र यादवको समेत पार्टीको बीचमा एकता गर्ने र फेरि पनि यो मुलुकको सबैभन्दा लार्जेष्ट पार्टी, र यो मुलुकलाई नेतृत्व गर्ने ठाउँमा पुर्याउनुपर्छ भन्ने हाम्रो निश्कर्ष रहेको छ।’
चौधरीले आफूहरु छिट्टै सरकारमा सहभागी हुने समेत दाबी गरेका छन्। ६ वटा मन्त्रालयसहित आफूहरु सरकारमा जानेबारे छिट्टै निर्णय हुनेपनि उनको दाबी छ। ‘हामीले यति नै संख्यामा मन्त्रालय चाहिन्छ भनेर खोजेको छैनौं, तर समानुपातिक प्रतिनिधित्व हुनै पर्छ। मलाई के लाग्छ भने ६ को वरिपरिको मन्त्रालयमा हामी सहभागी हुन्छौं,’ चौधरीले भने।
एमालेलाई सग्लो राख्ने हो भने एमाले र केपी ओलीबीच कुनै प्रकारको साईनो/सम्बन्ध राख्न नहुने उनको टिप्पणी छ। 'केपी ओलीलाई संसदीय दलको नेता र पार्टी अध्यक्षबाट हटाउनुपर्छ र हटाउन सकेनौं भने नेकपा एमालेलाई जोगाउन सक्दैनौं । त्यो त तयारी हुनुपर्छ । र, हामी प्रयास गरिरहेका छौं,’ चौधरीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।