काठमाडौं- नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको राष्ट्रिय अधिवेशन भदौ अन्तिम साता काठमाडौंमा हुने भएको छ।
नाडा केन्द्रीय कार्य समितिको शुक्रबार काठमाडौंमा सम्पन्न बैठकले ४५औं वार्षिक साधारणसभाको अवसर पारेर भदौ २५ गते राष्ट्रिय अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो।
नयाँ नेतृत्व चयनका लागि नाडाको राष्ट्रिय अधिवेशन काठमाडौंमा आयोजना गर्ने निर्णय गरिएको अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए। बैठकले अधिवेशनको तयारीका लागि महासचिव सुनिल रिजाल, सचिव अनुप बराल र कोषाध्यक्ष सुरेन्द्र उप्रेती सदस्य रहने गरी तीन सदस्यीय समितिसमेत गठन गरेको छ। अध्यक्ष दुलालले अधिवेशनलाई सफल बनाउन नाडाका सबै सदस्यहरुलाई लागि पर्न आह्वान गरेका छन्।
नाडाको कूल तीन हजार ३६५ जना सदस्य रहेका छन्। २० जना केन्द्रीय कार्य समितिका लागि निर्वाचन हुनेछ। नाडाको संशोधित विधान २०७७ अनुसार नाडाका आठ संस्थागत एसोसियसनका अध्यक्षले स्वतः केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने छन्। त्यसैगरी चार जना उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षको चयन निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले गर्नेछ। नाडाको कूल केन्द्रीय कार्यसमितिको कूल संख्या २९ जनाको हुने अध्यक्ष दुलालले बताए। सदस्यता नवीकरण नगरेकाहरुको नवीकरणको अन्तिम मिति आगामी भदौ १८ गतेसम्म रहने गरी कार्य तालिका तय गरिएको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।