नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, फाइल तस्वीर
काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसले दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिँदा नेपाली युवक महाकाली नदीमा बगेको भन्ने घटनाको वास्तविकता बाहिर ल्याउन माग गरेको छ।
दार्चुलाको ब्यास गाउँपालिकाबाट भारतीय राज्य उत्तराखण्डको पांगल हुँदै सदरमुकाम खलंगा आउँदै गर्दा महाकाली तर्ने क्रममा एसएसबीका जवानले तुइन काँटिदिँदा ३५ वर्षीय जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका थिए।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीका दार्चुला जिल्लाका नेताहरुसँग बुझ्दा पनि घटनाबारे सोही (भारतीय सुरक्षाकर्मीले तुइन काट्दा नेपाली युवक नदीमा बेपत्ता भएको) विवरण प्राप्त भएको भन्दै यस्तो घटना दु:खद मात्रै नभइ अमानवीय र अत्यन्तै आपत्तिजनक भएको पनि बताएका छन्।
'नदी तर्ने क्रममा तुइन काटिदिएपछि ३५ वर्षीय युवा जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटना अत्यन्तै दुःखद मात्रै होइन अमानवीय र अत्यन्तै आपत्तिजनक छ। घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिन/दिलाउन नेपाली कांग्रेस पार्टीका तर्फबाट म सरकार समक्ष माग गर्दछु,' कांग्रेस प्रवक्ता शर्माले विज्ञप्तीमा भनेका छन्, 'आफ्नो नागरिकको जीवन सुरक्षा गर्ने दायित्व बोकेको सरकारले यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिएर आवश्यक गम्भीर पहलकदमी गर्ने विश्वास लिएको छु।'

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।