काठमाडौं– नेकपा (एमाले) का महासचिव ईश्वर पोखरलेले आज (शुक्रबार) साँझसम्म पार्टीको विवाद मिलाउन सहमति हुनसक्ने बताएका छन्। सहमति नभएको अवस्थामा भने थप प्रतीक्षा गर्न नसकिने पनि उनको भनाइ छ।
एमाले मुख्यालय थापाथलीमा साउन १५ को अवसरमा आयोजना गरेको 'खिर खुवाउने कार्यक्रम'मा पत्रकारहरुसँग बोल्दै महासचिव पोखरेलले विवाद मिलाउन गठित कार्यदलले तयार पारेको सहमतिको १० बुँदे प्रस्तावअनुसार नै अघि बढ्नुपर्ने बताए। तर, दैनिक आउने नयाँ प्रस्तावले पार्टी एकतामा अप्ठ्यारो परेको उनको भनाइ छ।
‘कार्यदलले अघि सारेको १० बुँदे प्रस्तावलाई कार्यन्वयन गर्ने हिसाबले अगाडि बढ्नु पर्छ। अध्यक्ष (केपी ओली)ले आजसम्म नमिलेको विषय ल्याउन भन्नुभएको छ। बेलुकासम्म केही सहमति होला। त्यसपछि धेरै प्रतीक्षा गर्नु उचित हुँदैन भन्ने छ,’ पोखरेलले भने।
पार्टी एकताका लागि कुनै 'विधि' वा 'पद्दति'भन्दा बाहिर गएर सहमति नहुने पोखरेलको भनाइ छ। पोखरेलले दोस्रो अध्यक्षको प्रस्तावमा पनि जान नसकिने बताए।
एमालेले शनिबारका लागि स्थायी समिति बैठक बोलाएको छ। त्यही बैठकले विवादका विषय टुंगो लगाउने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।