नेपाली राष्ट्रिय कांग्रेसको स्थापनापछि त्यसले धेरैमा उत्साह र प्रेरणा सिर्जना गरिदियो। सोही सन्दर्भमा विराटनगरस्थित जुद्ध जुट मिलमा मजदुरहरुले हड्ताल गरे। २००३ फागुन २१ देखि सुरु भएको हड्तालको नेतृत्व गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी लगायतले गरेका थिए। फागुन २६ मा हड्ताललाई नेतृत्व दिन बीपी कोइराला पनि विराटनगर पुगे। यता राणा शासकले मजदुर आन्दोलन दबाउन काठमाडौंबाट सैनिक पठायो। बीपी, गिरिजा, मनमोहनलगायत ६ जनालाई पक्राउ गरी काठमाडौं ल्याइयो।
बीपी पक्राउ परेपछि पार्टीको नेतृत्व परिवर्तन गरियो। २००३ चैत २७ र २८ मा जोगवनीमा बसेको पार्टी प्रतिनिधिहरुको सम्मेलनले कार्यकारी सभापतिमा मातृकाप्रसाद कोइरालालाई चयन गर्यो। आफ्नो पुस्तकमा इतिहासकार राजेश गौतम लेख्छन्- ‘मातृकाप्रसाद कोइरालाले पनि आफू नेपाली राष्ट्रिय कांग्रेसले सञ्चालन गर्न लागेको संघर्षको लागि मात्र सभापति हुने र कुनै कारणले संघर्ष स्थगित भएमा राजीनामा गर्ने शर्तमा नेपाली राष्ट्रिय कांग्रेसको साधारण सदस्यता पनि लिए र कार्यकारी सभापतिको पद पनि ग्रहण गरे।’ (नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस, भाग-१)
यो सम्मेलनमा काठमाडौंबाट पुष्पलाल पनि सहभागी भएका थिए (पुष्पलालको पुस्तक नेपालमा कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहासमा दोस्रो अधिवेशन भन्ने उल्लेख छ।) सम्मेलनले नागरिक तथा राजनीतिक अधिकार र राजनीतिक बन्दीहरुको रिहाइको माग राखेर देशभर सत्याग्रह गर्ने र ‘राणाशाही मुर्दावाद!’ को नारा लगाउने कार्यनीति पास गर्यो।
सत्याग्रह सुरु भएपछि काठमाडौं उपत्यकामा पनि प्रदर्शन भयो। प्रदर्शनमा दमन भयो। ‘दमनले काम नचल्ने देखेर राणाशाहीले अर्को चाल चल्यो। नेपालका तत्कालीन प्रधानमन्त्री पद्म शमशेरले काठमाडौं उपत्यकामा गिरफ्तार गरिएका महिला तथा पुरुष राजबन्दीहरुलाई आफ्नो दरबारमा उपस्थित गराई १२ दिनभित्र संवैधानिक सुधार गर्ने छु भन्ने घोषणा गरी उनीहरुलाई रिहा गरे। यसको पछाडि जेसुकै कुटनीतिक चाल भए तापनि एक शताब्दी पुरानो राणाशाही जनआन्दोलनसमक्ष झुक्न मजवुर भएको यो पहिलो राजनीतिक घटना हो’ -पुष्पलालले लेखेका छन्।
विराटनगरबाट बीपी पक्राउ परेपछि राष्ट्रिय कांग्रेसका नेताहरुले भारतीय नेताहरुलाई रिहाइको लागि पहल गर्न आग्रह गरे। परिणामतः २००४ भदौमा बीपी रिहा भए। तर, त्यतिञ्जेलसम्म कांग्रेसको चर्चा व्यापक भइसकेको थियो।
यसबीचमा पार्टीभित्र विवादको बिजारोपण पनि भइसकेको थियो। मातृकाले २००४ साउन १-३ मा बनारसमा बसेको पार्टी बैठकमा राजीनामा दिएका थिए। त्यसपछि डिल्लीरमण रेग्मीलाई एक वर्षका लागि कार्यवाहक सभापतिमा चयन गरिएको थियो।
बीपी जेलबाट छुटेपछि पार्टीको नेतृत्वलाई लिएर विवाद सुरु भयो। राजेश गौतम लेख्छन्- ‘आफ्ना मित्रहरुको अनुरोधलाई स्वीकार गरी विश्वेश्वरप्रसाद कोइरालाले बनारसमा भएको नेपाली राष्ट्रिय कांग्रेसको बैठकको उक्त निर्णय (रेग्मीको चयन)लाई चुनौती दिए। डिल्लीरमण रेग्मी पनि त्योभन्दा एक कदम अगाडि बढे। उनले अझै पनि नेपाली राष्ट्रिय कांग्रेसको सभापति पदमा नेपालको जेलमा रहेका टंकप्रसाद आचार्यलाई राखिरहनुपर्ने कुरालाई समयसापेक्ष देखेनन् र यसबाट नेपाली राष्ट्रिय कांग्रेसलाई कुनै फाइदा देखेनन्। यसले गर्दा उनले आफू स्वयंलाई नेपाली राष्ट्रिय कांग्रेसको कावा सभापतिको ठाउँमा पूर्णरुपले सभापति भएको घोषणा गरे।’
रेग्मीले पद छाड्न नमानेपछि बीपी आफैंले कावा सभापतिको पद सम्हाले। त्यसपछि नेपाली कांग्रेसको दुवै पक्षले एक अर्को पक्षको गतिविधिलाई अवैधानिक घोषणा गरे। त्यसपछि पार्टी दुई समूहमा विभाजित हुनपुग्यो। बीपीतिर गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायत थिए। रेग्मीतिर पुष्षलाल श्रेष्ठ, देवीप्रसाद सापकोटा लगायत थिए।
यसले पार्टीको संगठन विस्तार, कार्यक्रम सञ्चालन, सम्पर्क विस्तार र पत्राचार आदि कार्यमा नेपाल र भारतमा समेत अन्योल सिर्जना भयो। अन्योल हटाउन कोइराला समूहले २००४ पुस १९ र २० मा बनारसमै अर्को सम्मेलन आयोजना गर्यो। सम्मेलनले पार्टी विधान संशोधन गर्नुका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा महत्त्वपूर्ण निर्णय पारित गरेर आफूलाई मूलधारको पार्टीको रुपमा उभ्यायो। साथै, तुरुन्तै पार्टी महाधिवेशन गर्ने निर्णय पनि गर्यो।
सम्मेलनको निर्णय अनुसार कोइराला समूहले २००४ माघ २०-२२ मा बनारसमा दोस्रो अधिवेशन आयोजना गर्यो। अधिवेशनको उद्घाटन बीपी कोइरालाबाटै भएको थियो। कोइरालालाई वैधानिक सभापति बनाउने उद्देश्यले गरिएको यस महाधिवेशनमा गणेशमान सिंह र नरेन्द्र रेग्मीले उनलाई सभापतिमा प्रस्ताव गरे। प्रस्तावलाई कृष्णप्रसाद भट्टराई, देवव्रत परियार र बालचन्द्र शर्माले समर्थन गरेका थिए। सर्वसम्मतीबाट सभापतिमा कोइराला निर्वाचित भएपछि विभाजनको बीचबाट पनि यसले आफूलाई मूल पार्टीका रुपमा स्थापित गरी आन्दोलन हाँक्ने अवस्थामा पुर्यायो। (विश्वबन्धु थापा : क्रान्तिदेखि क्रान्तिसम्म, विनोद सिजापति)
नेपाली कांग्रेसको सो महाधिवेशनको मुख्य राजनीतिक प्रस्तावमा भनिएको छ- ‘यस वर्षका लागि पनि श्री टंकप्रसाद उपाध्याय (हाल ७ वर्षदेखि नेपाल जेलमा) नेपाली राष्ट्रिय कांग्रेसका सभापति र उहाँका स्थानमा काम गर्न श्री विश्वेश्वरप्रसाद कोइराला कार्यकारी सभापति निर्वाचित हुनुभयो। श्री बालचन्द्र शर्मा एमए साहित्यरत्न नै प्रधानमन्त्री श्री नरेन्द्रप्रसाद रेग्मी नै कोषाध्यक्ष हुनुभयो। कार्यकारी सभापतिज्यूले कार्यसमितिका १५ जना सदस्यहरुमध्ये तीन जनाको नाम पछि घोषित गर्ने हुनुभएको छ।‘ (नेपाली कांग्रेस ऐतिहासिक दस्तावेजहरु)
त्यहाँ बीपीले पनि सम्बोधन गरेका थिए। उनको भनाइ थियो- ‘हामीले नेपालमा श्री ५ महाराजधिराजको वैधानिक अधिनायकत्वमा जनताको उत्तरदायी शासन नै आफ्नो उद्देश्य भन्ने कुरा ने.रा.का.को उद्घाटनको अवसरमा कलकत्तामा नै निश्चित गरिसकेको छ। यदि यस उत्तरदायी शासनको अर्थ केवल खोक्रो वैधानिक परिवर्तन अथवा प्रजातन्त्रवादको बोक्रो सिद्धान्तमा भए यसको हामीलाई कुनै आवश्यकता छैन।‘
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।