भीमदत्तनगर- वैदेशिक रोजगारीका नाममा धेरै महिला मानव बेचबिखनको शिकार बनिरहेका बेला कञ्चनपुर नाका दलालका लागि सहज बनेको छ।
बर्सेनि सयौं महिलालाई कञ्चनपुरको गड्डाचौकी लगायत नाकाबाट उद्धार गरिरहेको माइती नेपाल कञ्चनपुरका अनुसार पछिल्लो समय भारत हुँदै तेस्रो मुलुक जाने भन्दै महिलालाई चलाखीपूर्ण ढंगले नाका कटाउने गरिएको छ।
'हामीलाई नाकामा छल्न प्रायः महिला रोजगारीका लागि भारतको सिमला र आफन्त भेट्न दिल्लीसम्म जान लागेको भन्छन्', माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले भनिन्, 'दिल्ली र सिमला भन्ने प्रायः महिला तेस्रो मुलुक जान लागेका हुन्छन्।' अधिकांश महिलालाई महिला दलालले नै भारत लैजाने गरेको पाइएको छ ।
स्थलमार्ग भएर भारतको राजधानी दिल्ली जाने सबैभन्दा कम दूरीको नाका भएकाले यहाँ मानव बेचबिखन निकै चुनौतीपूर्ण रहेको भट्टको भनाइ छ । पछिल्लो समय भारत हुँदै अवैध रुपमा बहराइन, दुबई, कुवेत, किर्गिस्तान, मलेसियालगायत मुलुकमा जाने क्रम बढेको छ ।
'पहिले जस्तो भारतकै कोठीमा बेचिने क्रम अलि कम भएको छ,” संयोजक भट्टले भनिन्, 'अहिले दलाल समूह युवतीलाई विभिन्न प्रलोभनमा पारेर तेस्रो मुलुक पठाउने काममा बढी सक्रिय देखिन्छ।'
बिचौलियाको समूहबाट युवतीसँगै घरका अन्य सदस्य पनि विश्वासमा परेर महिलालाई दिल्ली हवाईमैदानसम्म पुर्यादउन आफैं जाने गरेका छन्।
'सबै कागजात दिल्लीमै छ भनेर लगिन्छ', उनले भनिन्, 'विश्वासमा परेर आफन्तहरु नै सीमा कटाउन संलग्न भएका धेरै घटना छन्।'
माइती नेपाल कञ्चनपुरले एक महिनामा १० देखि १२ महिलालाई सीमाबाट उद्धार गरिरहेको तथ्यांक छ।
'हामीले कञ्चनपुरकै महिलालाई समेत केही समयअघि कुवेत जाने तयारी गरिरहेका अवस्थामा दिल्लीकै हवाई मैदानबाट उद्धार गर्यौं', उनले भनिन्, 'आर्थिक प्रलोभन, बेरोजगारी र गरिबीकै कारण महिला रोजगारीका नाममा दिनहुँ बेचिँदै छन्।'
गड्डाचौकी नाका हुँदै रोजगारीका लागि भारत भएर तेस्रो मुलुक जाने महिला सिन्धुपाल्चोक, नुवाकोट, काभ्रे, रसुवा लगायत जिल्लाका बढी रहेको माइती नेपाल कञ्चनपुरकी संयोजक भट्ट बताउँछिन्।
'आफन्तहरुले महिलालाई सीमा कटाउन खोज्दा हामीलाई निकै समस्या हुनेगरेको छ', उनले भनिन्यो, 'बुबा, दिदी, काकाहरु नै थाहा नपाएर पुर्यािउनन हिँडेका हुन्छन्।' उनले काठमाडौं–दिल्ली, पोखरा–दिल्ली चल्ने बसका कारणसमेत दलाललाई सहज भएको बताइन्।
'यहाँबाट सोझै बस चल्न थालेपछि त दलाल दिल्लीबाटै सक्रिय हुन थालेका छन्', उनले भनिन्, 'उद्धार गरिएका धेरै महिला दलालबाट आर्थिक प्रलोभनमा परी ठगिएका हुन्छन्।'
पछिल्लो पाँच महिनायता भारतको पञ्जावबाट एक महिलाको उद्धार गरिएको छ। भारतभन्दा तेस्रो मुलुकमै बढी महिला लगिन्छन्। नियन्त्रणका लागि सीमामा दरिलो संयन्त्र आवश्यक छ। माइती नेपालले गत वर्ष यहाँको सिमानाबाट २२ महिलाको उद्धार गरेको थियो।
माइती नेपालमा महिलाको खोजतलासका लागि सन् २०१७ मा २ सय ४ जनाको निवेदन परेको थियो। संयोजक भट्ट भन्छिन्, 'तीमध्ये २८ जना मात्रै भेट्टिए, ५५ जना हराएको यस वर्ष निवेदन परेको छ।'
अहिलेससम्म १० जना मात्रै फेला परेका उनले बताइन्। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।