काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको बासस्थानलाई सुरक्षित गराउनतर्फ ध्यान दिनुपर्ने बताएका छन्।
विश्व बाघ दिवसको अवसरमा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले बाघको बासस्थानका लागि जंगल आवश्यक रहेको र जंगल जोगाउनेतर्फ ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।
उनले बाघको बासस्थानको सुरक्षा गर्दै चोरी निकासी रोक्नुपर्ने बताए। प्रधानमन्त्री देउवाले बाघ र मानिसका बीचमा समस्या रहेको भन्दै ती समस्याहरुको समाधानका उपाय निकाल्नु आवश्यक रहेको बताए।
‘बाघको लागि जंगल आवश्यक छ। जंगल र बाघ एक अर्काको लागि आवश्यक कुरा हुन्। बाघको बासस्थान सुरक्षित गर्न विशेष ध्यान दिनुपर्छ’, देउवाले भने।
कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रकृति संरक्षणमा जोड दिनुपर्ने बताए। उनले आफू प्रधानमन्त्री रहँदा सहयोद्धाहरु राम्रो भएकाले प्रकृति संरक्षणको सम्बन्धमा राम्रो काम गर्न सकेको भन्दै त्यसप्रति आफूलाई आनन्द र गौरवबोध हुनेगरेको बताए। उनले प्रधानमन्त्री देउवालाई काबिल र रचनात्मक सहयोगीहरु राख्न पनि सुझाव दिए।
‘प्रधानमन्त्री मात्रै पर्याप्त हुँदोरहेनछ। सहयोगी, सहयोद्धाहरु पनि त्यस्तै काविल चाहिन्छ। समर्पित चाहिन्छ। रचनात्मक चाहिन्छ’, नेपालले भने। उनले बाघको रक्षामा सबैले ध्यान पुर्याउनुपर्ने बताए। प्रकृतिको संरक्षण भए मात्रै मानव जातिको संरक्षण हुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।