काठमाडौं- नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले निष्कासन हुन लागेको एक कम्पनीको प्राथमिक सेयर आचारसंहिता र कानून विपरीत हात पारेको विषयमा अर्थ मन्त्रालयले स्प्ष्टीकरण सोधेको छ।
बोर्ड यो क्षेत्रको नियामक निकाय हो। बोर्डका अध्यक्ष ढुंगानाले कानून र आचारसंहिताविपरीत सेयर हात पारेको सार्वजनिक भएपछि अर्थ मन्त्रालयले तीन दिनभित्र जवाफ पेस गर्न स्पष्टीकरण सोधेको हो।
अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले साउन १३ मा ढुंगानालाई पत्र पठाएको छ। पत्रमा विभिन्न सञ्चारमाध्यममा बोर्डसँग सम्बन्धित समाचार प्रकाशन भएकोमा मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख गर्दै भनिएको छ, ‘सञ्चारमाध्यममा आएका विषयवस्तुको सम्बन्धमा सत्य, तथ्य यथार्थता के हो, सोको स्पष्ट र तथ्यपरक विवरण तीन दिनभित्र मन्त्रालयमा उपलब्ध गराउन आदेशानुसार अनुरोध गरिएको छ।’
धितोपत्र बजारको नियामक संस्था बोर्डका अध्यक्ष ढुंगानाले व्यक्तिगत लाभका लागि पदीय मर्यादा विपरीत काम गरेको समाचार हिमालखबर डटकमले सार्वजनिक गरेको थियो।
समाचारमा ढुंगानाले बुक बिल्डिङ विधिमार्फत् धितोपत्र निष्कासनको तयारी गरिरहेको सर्वोत्तम सिमेन्टको ११ हजार ९९२ कित्ता सेयर छोरीको नाममा राखेको भेटिएको उल्लेख थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।