काठमाडौं– हाल गण्डकी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। न्यूनचापीय रेखा पश्चिम तराई आसपास रहेकाले उक्त क्षेत्रमा सामान्य वर्षा भइरहेको विभागले जनाएको छ।
अबको केही दिन साउने झरी पर्ने विभागको दाबी छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज(बिहीबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
अबको चार दिनको वर्षा सुदूरपश्चिम र कर्णाली केन्द्रित हुने भएकाले महाकाली र कर्णाली नदीसहित यसका सहायक नदीमा बाढीको बहाव बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
पश्चिम केन्द्रित भए पनि प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका विभिन्न स्थानमा पनि तीन–चार दिन साउने झरी पर्ने सम्भावना औँल्याइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।