काठमाडौं- रोयल इन्फिल्ड मोटरसाइकलको नयाँ मोडल ‘मिटोर ३५० सीसी’ नेपालमा आइपुगेको छ। रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता एमभी दुगड ग्रुपअन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले बुधबार उक्त ब्राण्डको क्रुजर सेरिजमा नयाँ मोडल सार्वजनिक गरेको हो।
उक्त मोडलमा फायर बल, स्टिलर र सुपरनोभा गरी तीन भेरियन्ट उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ। जसमा फायर बलको दुई, स्टिलरको तीन र सुपरनोभाको दुई अधिकारिक रङ उपलब्ध हुने छन्। ‘मिटोर ३५० सीसी एउटा क्रुजर सेरिजको मोटरसाइकल हो, जसमा जे-सेरिजको एयर-आयल कूल्ड एसओएचसी इन्जिन रहेको छ। इन्धनको कार्यकुशलताका लागि इलेक्ट्रोनिक फ्युल इन्जेक्सन (ईएफआई) भएको यस मोटरसाइकलमा थप सुरक्षाका लागि डुअल च्यानल एबीएस पनि रखिएको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
उक्त मोटरसाइकलमा टर्न-टु-टर्न नेभिगेसनका लागि गुगलसँगको साझेदारीमा बनाइएको ट्रिप्पर पोड र मोबाइल फोन चार्ज गर्नका लागि यूएसबी चार्जिङ पोर्ट समावेश गरिएको कम्पनीले जनाएको छ।
विवेक अटोमोबाइल्सले आफ्नो १९ वटै शाखा तथा डिलरहरूमा मिटोर ३५० सीसी बिक्री प्रवर्द्घन सुरू गर्ने भएको छ। भोलिबाट उक्त मोटरसाइकलको बुकिङ तथा बिक्री वितरण सुरू गरिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार फायर बलको मूल्य छ लाख रूपैयाँ, स्टिलरको छ लाख १७ हजार र सुपरनोभाको मूल्य छ लाख ४५ हजार रूपैयाँ राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।