काठमाडौं- नाडा अटो मोबाइल्स एसोसिएसनका उपाध्यक्ष करण चौधरी नेतृत्वको प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग भेटवार्ता गरेको छ।
नाडाको सात सदस्यीय प्रतिनिधिमण्डलले नवनियुक्त राज्यमन्त्री श्रेष्ठलाई सफल कार्यकालको शुभकामना दिँदै अटोमोबाइल क्षेत्रमा संलग्न व्यवसायी, कर्मचारी, टेक्निसियनहरु र देशैभर छरिएर रहेका श्रमिकहरुका लागि खोप उपलब्ध गराउन माग गरेको नाडाले जानकारी दिएको छ।
उक्त भेटघाटमा नाडाका उपाध्यक्ष चौधरीले कोभिड-१९ का कारण नेपालको समग्र अटोमोबाइल व्यवसाय नै समस्या परेको र यसको प्रत्यक्ष प्रभाव सरकारले अटोमोबाइल क्षेत्रबाट प्राप्त गर्ने राजस्वमासमेत परेको जानकारी गराएका थिए। सरकारले जारी गरेको निषेधाज्ञा हाल केही खुकुलो भए पनि नेपालको अटोमोबाइल क्षेत्रका व्यवसायी, कर्मचारी, टेक्निसियन र देशैभर छरिएर रहेका श्रमिकहरु खोपको अभावमा आफ्नो कार्यक्षेत्रमा जान नसकिको उनले बताए। खासगरी व्यवसायको फ्रन्टलाइनमा बस्ने कर्मचारी र श्रमिकहरुलाई धेरै समस्या भएको उनले बताए।
छलफलमा चौधरीले कोभिड-१९ का कारण अटोमोबाइल व्यवसायले अझै गति लिन नसकेको बताए। अटोमोबाइल व्यवसायलाई थप गतिशील बनाउन तत्काल खोपको व्यवस्था गर्नुपर्ने उनले बताए। राज्यमन्त्री श्रेष्ठले खोप उपलब्ध गराउन सक्दो प्रयास गर्ने आश्वासन दिएका थिए।
प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसंख्या सचिव लक्ष्मण अर्यालसँग भेटेर आवश्यक खोप उपलब्ध गराइदिन अनुरोध गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।