फाइल तस्बिर
काठमाडौं- कक्षा १२ को परीक्षा 'होम सेन्टर'बाटै हुने भएको छ। बुधबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गा अर्यालले कोरोना भाइरस संक्रमणको जोखिमलाई ख्याल गर्दै होम सेन्टरबाटै परीक्षा लिने तय भएको जानकारी दिए।
'अर्को ठाउँमा जानु पर्दा यातायातको समस्या हुन्छ। विद्यार्थीले पनि कोठा खोजेर बस्नुपर्छ। यस्ता कार्यले कोरोनाको जोखिम बढाउनसक्ने भएकाले होम सेन्टरबाटै परीक्षा गर्नुपर्ने भएको छ,' सचिव अर्यालले भने।
कक्षा १२ को परीक्षा आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन हुँदै छ। त्यसैले समितिले 'कोभिड १९ को संक्रमणका बीचमा परीक्षा सञ्चालन र स्वास्थ्य मापदण्ड' सम्बन्धनमा छलफल गर्न बैठक आयोजना गरेको हो।
बैठकमा सांसदहरुले परीक्षालाई मर्यादित रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए। 'होम सेन्टरबाटै परीक्षा लिँदा त्यहीँकै निरीक्षक नहुने व्यवस्था गर्नुपर्छ। नत्र चोरेर पास गराउने पनि हुनसक्छ,' सांसद खगराज अधिकारीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।