काठमाडौं- मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशको प्रमुखमा पृथ्वीमान सिंह गुरुङलाई सिफारिस गरेको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गुरुङलाई सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए।
गुरुङलाई सिफारिस गर्नुअघि मन्त्रिपरिषद्ले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशमा प्रमुखहरुलाई हटाउने निर्णय गरेको थियो। गण्डकीमा यसअघि सीताकुमारी पौडेल प्रदेश प्रमुख थिइन्।
को हुन् गण्डकी प्रदेश प्रमुखमा सिफारिस गुरुङ?
उनी कांग्रेस विभाजन हुँदा चितवनमा शेरबहादुर देउवापक्षीय कांग्रेस (प्रजातान्त्रिक) को जिल्ला सभापति थिए। पछि पार्टी एकीकरण हुँदा सहअध्यक्ष बनेका थिए।
प्रतिनिधि सभा निर्वाचनमा एक पटक चितवनबाट टिकट पाएका उनी पराजित भएका थिए। ६५ वर्ष कटेका उनी कास्कीबाट बसाइँ सरेर चितवन झरेका थिए। २०३३ सालतिर पञ्चायतमा लागेको आरोपमा उनलाई कांग्रेसबाट निष्काशन गरिएको थियो। पछि २०४३ सालमा पुन: कांग्रेसमा प्रवेश गरेका थिए।
गुरुङ अध्ययन गरेका र भलाद्मी पुराना नेताका रुपमा चिनिन्छन्। पुराना राजनीतिकर्मी उनी कांग्रेसको महाधिवेशन प्रतिनिधि हुँदै आएका थिए। पछिल्लोपटक देउवाले उनलाई संगठन विभागको पदाधिकारी बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।