काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा प्राप्त अधिकारहरु संघर्षको प्रतिफल भएकोले यसको कार्यान्वयनका लागि निरन्तर पहलकदमी आवश्यक रहेको बताएका छन्।
मंगलबार संघीय संसद् भवन नयाँ बानेश्वरमा अन्तरपार्टी महिला सञ्जालको तर्फबाट ज्ञापनपत्र बुझेपछि सभामुख सापकोटाले आवश्यक पर्दा सकारात्मक र रचनात्मक दबाब सिर्जना गर्नुपर्ने बताए। संविधानमा लोकतन्त्रका सबै आयाम समेटिएको र मौलिक व्यवस्थाहरु कायम गरिएको स्पष्ट गर्दै उनले सोही व्यवस्थाका कारण प्रतिनिधि सभामाथि दुई पटकसम्म आइपरेका नकारात्मक परिघटना समाधान भएको धारणा राखे।
संसद्लाई प्रभावकारी बनाउन आफूले पहल र प्रयत्न जारी राखेको बताउँदै सभामुख सापकोटाले संसद्मा विधेयकहरुलाई अघि बढाउने सन्दर्भमा आफूले प्रधानमन्त्रीसँग र आवश्यक परे सर्वदलीय छलफल गर्ने जानकारी दिए। देश र जनताको अधिकतम हितलाई ध्यानमा राखेर निष्ठापूर्वक काम गर्ने बताउँदै उनले सञ्जालले गराएको ध्यानाकर्षणप्रति ऐक्यबद्धता जनाए। सञ्जालले उठाएका विषयलाई निर्णायक ठाउँमा पुर्याउने र यसको मर्म बुझाउन प्रयत्न गर्ने सभामुख सापकोटाको भनाइ थियो।
अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष कल्याणी रिजालले सभामुख दह्रोसँग उभिएका कारण प्रतिनिधि सभाको पुन:स्थापना भएको बताउँदै मन्त्रिपरिषद् विस्तार हुँदा कम्तीमा संविधानले व्यवस्था गरेअनुसारको महिला सहभागिताका लागि पहल गरिदिन सभामुख सापकोटालाई आग्रह गरिन्।
ज्ञापनपत्रमा संविधान सभाबाट जारी संविधानको प्रस्तावनामा नै लैंगिक विभेद अन्त्य गरी सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तको आधारमा समतामूलक समाजको निर्माण गर्ने भन्ने व्यवस्था गरिनु, मौलिक हक र कर्तव्यको धारा ३८ महिलाको हकको उपधारा ४ मा राज्यका सबै निकायमा महिलाहरुलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुनेछ, भन्ने व्यवस्था गरिनुजस्ता महत्त्वपूर्ण उपलब्धिलाई इमानदारपूर्वक कार्यान्वयन गर्नु राज्य र राजनीतिक दलहरुको प्रमुख कर्तव्य भएको उल्लेख छ।
यस्तै राज्यका हरेक निकायमा महिलालाई समानुपातिक समावेशी सहभागिता हुने हक हुनेछ भन्ने संवैधानिक व्यवस्थाको अक्षरस कार्यान्वयन गराउन, मन्त्रिपरिषद्, संवैधानिक आयोग, कूटनीतिक नियोग एवं राज्यका अन्य निकायहरुमा हुने राजनीतिक नियुक्तिहरुमा हाललाई महिलाहरुको न्यूनतम पनि एक तिहाइ प्रतिनिधित्व नघट्ने गरी सुनिश्चित गर्नका लागि ऐतिहासिक भूमिकाका लागि सभामुखसमक्ष माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।