काठमाडौं– नेकपा माओवादी केन्द्रले अमिक शेरचन र तिलक परियारलाई प्रदेश प्रमुखका लागि सिफारिस गर्ने निर्णय गरेको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रदेश प्रमुखबाट हटाइएका शेरचन र परियारलाई नै पुन: नियुक्तिका लागि सिफारिस गर्ने निर्णय भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए।
सत्तारुढ गठबन्धनका नेताहरुबीच हाल कायम प्रदेश प्रमुख हटाएर नयाँ नियुक्ति गर्ने सहमति भएअनुसार माओवादी केन्द्रको मंगलबार बसेको स्थायी समिति बैठकले शेरचन र परियारलाई प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
शेरचन यसअघि गण्डकी प्रदेश र परियार प्रदेश २ का प्रमुख थिए। तत्कालीन प्रधानमन्त्री ओलीले माओवादी कोटाका तीन प्रदेश प्रमुख शेरचन, परियार र शर्मिला पन्त त्रिपाठीलाई हटाएर आफूनिकटलाई नियुक्त गराएका थिए।
एउटै प्रदेशमा सोही व्यक्तिलाई पुन: नियुक्त गरेर पठाउन नपाइने संवैधानिक मान्यता भएकाले माओवादीबाट सिफारिस भएका शेरचन गण्डकी बाहेक र परियार प्रदेश २ बाहेकका प्रदेशको प्रमुख नियुक्त हुनेछन्।
नेपाल लाइभको सम्पर्कमा आएका शेरचनले आफूलाई पार्टीले पुन: प्रदेश प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको भए पनि आफ्नो भने उक्त पदमा खासै रुची नभएको बताए। 'मलाई व्यक्तिग रुपमा भने प्रदेश प्रमुख हुन खासै रुची छैन, तर पार्टीले निर्णय गरिसकेको रहेछ। पार्टीको निर्णय मान्दिन पनि भन्न मिलेन,' शेरचनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।