काठमाडौं- नेपाली कांग्रेसका सांसद् गगन थापाले पुनःस्थापित संसद्ले सरकारलाई विश्वासको मत दिएसँगै नयाँ अध्याय प्रारम्भ भएको बताएका छन्। यो अध्यायको सुखान्तको लागि सरकार र सांसद दुवैसँग नयाँ अपेक्षाहरु रहेको उनले बताए।
'संसद्लाई हेप्ने, अदालतलाई हप्काउने। न विधि मान्ने, न विज्ञानलाई पत्याउने। स्थानीय र प्रदेश सरकारलाई पंगु बनाउने। जनताको दुहाइ दिने, तर आसेपासे पोस्ने। बाहिर सिंह जस्तो गर्जने, भित्र लम्पसार पर्ने। यस्तै यस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ अघिल्लो सरकार। नयाँ सरकारलाई यस्तो कुनै पनि अपराध गर्ने छुट छैन', प्रतिनिधि सभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै थापाले भने।
उनले संसद्ले पनि संकल्प गर्नुपर्ने बताए। 'न त यो संसद्लाई बेवास्ता गर्न दिइने छ। न त कामविहीन बनाउन। न त मनोमानी ढंगले स्थगित गर्न दिइने छ। न त छल्न। यो संसद् सरकारसँग डराउने होइन, सरकार यो संसद्सँग डराउनुपर्ने छ, सांसद्को प्रश्नसँग, सरकारको निगरानीसँग। परीक्षा प्रधानमन्त्रीको मात्रै होइन, सभामुखको पनि छ। यो संसद् जोगाउन लाग्ने हामी प्रत्येक सांसद्को छ', उनले भने।
थापाले संविधानको धाराले प्रतिनिधि सभा र सांसद्को अधिकारले सरकार पुनःस्थापित भएको भन्दै अब सभामुख र सांसद्को कर्मले संसद् र संविधानप्रति गुमेको जनविश्वासलाई पुनःस्थापित गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।