काठमाडाैं– सरकार पक्षीय गठबन्धनले तीन प्रदेशका प्रमुख हटाउने तयारी गरेको छ। मन्त्रिपरिषदको आज बस्ने बैठकले औपचारिक निर्णय गर्ने गठबन्धनका एक नेताले बताए l मन्त्रिपरिषद बैठक आजै ३ बजेका लागि बोलाइएको छ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच तीन वटा प्रदेशका प्रमुख हटाउने सहमति भएको बताइएको छ। प्रदेश २ का प्रदेश प्रमुख डा राजेश झा ‘अहिराज’, गण्डकीकी सीता पौडेल र लुम्बिनीका धर्मनाथ यादवलाई हटाउने तयारी गरिएको हो।
२०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई केपी ओली नेतृत्वको सरकारले पदमुक्त गर्दै नयाँ नियुक्ति गरेको थियो। त्यतिबेला नेकपाका दुई पक्ष (पूर्वएमाले र पूर्वमाओवादी)ले भागबण्डामा प्रदेश प्रदेश प्रमुख नियुक्त गरिएको थियो। तर, नेकपा विभाजन भएसँगै ओलीले पूर्वमाओवादीका तर्फबाट नियुक्ति पाएका प्रदेश प्रमुखलाई पनि हटाएर आफू निकटलाई नियुक्त गरेका थिए।
लुम्बिनी प्रदेशका प्रमुख यादव विवादमा पर्दै आएका छन्। गत वैशाखमा उनले बहुमतको विवादमा रहेका शंकर पोखरेललाई नियुक्त गर्दै मुख्यमन्त्री कार्यालयमै गएर सपथ खुवाएका थिए। गण्डकी प्रदेशकी प्रमुख पौडेलले नियुक्ति हुने बित्तिकै गण्डकी प्रदेश सभा सभामुखको विषयमा व्यक्त गरेको धारणाका विवादमा परेकी थिइन्। तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको पद धरापमा परेपछि ओलीले तत्कालीन प्रमुख अमिक शेरचनलाई हटाउँदै पौडेललाई नियुक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।