फाइल तस्वीर
काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक मंगलबार बिहान बस्दै छ। बिहान १० बजे सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्न लागेको हो।
आजको बैठक महाधिवेशनको विषयमा केन्द्रित रहने एक नेताले बताए। आजको बैठकमा यसअघि रोकिएको वडा अधिवेशन कहिले गर्ने भन्नेबारे छलफल हुने बताइएको छ।
बैठकले तल्लो संरचनाको अधिवेशनको नयाँ मितिबारे निर्णय गर्ने बताइएको छ। यसअगाडि मंगलबारदेखि सुरु हुने भनिएको तल्लो तहको अधिवेशन स्थगित गरिएको थियो।
बैठकले नयाँ मितिको टुंगो लगाउने छ। यस्तै, शीर्ष तहमा भएको सहमति अनुसार केन्द्रीय समितिले उक्त निर्णयको अनुमोदन गर्नेछ।
यस्तै रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समितिले आज प्रतिवेदन बुझाउने तयारीसमेत गरेको छ।
समितिले मंगलबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवालाई क्रियाशील सदस्यहरुको नामावली बुझाउने भएको हो। ‘हामीले गर्नसक्ने सबै कार्य गरिसक्यौं। ९८ प्रतिशतको नामहरु छानबिन गर्यौं। टुंगो पनि लगायौं,’ समितिका प्रवक्ता प्रदीप पौडेलले नेपाल लाइभसँग भने, ‘२ प्रतिशत जति स्थगित गरेका छौं।’
सप्तरी र बाराको पुरै जिल्लामा नयाँ सदस्य र नवीकरणमा विवाद रहेको जनाउँदै समितिले त्यसमा समाधान निकाल्ने जिम्मेवारी शीर्ष तहलाई सुम्पने भएको छ। सिन्धुपाल्चोक र रसुवामा समायोजनका क्रममा अस्पष्ट भएको निष्कर्ष निकाल्दै समितिले प्रतिवेदन बुझाउने भएको छ।
उक्त समितिमा पाँच हजार उजुरी परेका थिए। समितिले लगभग ९८ प्रतिशत काम सकेर आज प्रतिवेदन बुझउने तयारी गरेको हो।
क्रियाशील विवादले महाधिवेशनलाई नै प्रभावित बनाउने देखिएको छ। कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।