काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले शेरबहादुर देउवा नेतृत्वले गरेको स्वास्थ्य राज्यमन्त्री नियुक्ति र गण्डकी प्रदेशमा मन्त्री चयनप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
खड्काले सोमबार कांग्रेसका संस्थापक नेता तथा दिवंगत पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको आश्रम बाडेगाउँ पुगेर सामाजिक सञ्जालमार्फत् उक्त असन्तृष्टि व्यक्त गरेका हुन्।
प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले आइतबार स्वास्थ्य राज्यमन्त्रीमा स्वास्थ्य तथा शिक्षा क्षेत्रका व्यापारी उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए। यस्तै, गण्डकीमा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट तनहुँका डोबाटे विश्वकर्माको नाम काटेर विन्दुकुमार थापालाई कानुनमन्त्री बनाइएको थियो।
पार्टीमा लामो योगदान रहेका नेताहरूलाई छाडेर शिक्षा तथा स्वास्थ्य क्षेत्रका निकट व्यवसायीलाई नियुक्ति गरिएको भन्दै कांग्रेसभित्र र बाहिरसमेत प्रधानमन्त्री देउवाको आलोचना भइरहेको छ।
‘गण्डकी सरकार र संघीय सरकारको विस्तारमा पार्टीभित्र र बाहिरबाट आएका कडा टिप्पणी र आम प्रतिक्रियाबाट सकारात्मक रूपमा समयमै पाठ सिकेर यो ऐतिहासिक अवसरमा हामीले देश एवम् आम नागरिकप्रतिको कर्तव्य पालना गर्न, आशा जागृत गर्न तत्काल सच्चिन र भविष्यमा जनतालाई मन नपर्ने कुनै काम नगर्ने विश्वासिलो संकल्प समय छँदै गर्न जरुरी छ,’ खड्काले लेखेका छन्।
उनले जसको कारणले मन्त्री चयनमा कमजोरी भएपनि महामन्त्रीको नाताले आम नागरिक र सम्बन्धित सबै पक्षसँग क्षमा मागेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।