काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले विगतमा राप्रपा एक्लैले उठाउँदै आएको अजेण्डाको पक्षमा जनमत बढ्दै जानुले आफूहरु सही बाटोमा रहेको प्रमाणित भएको दाबी गरेका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत् उनले संघीयताको खारेजी, धर्मनिरपेक्षताबारे जनमत संग्रह र राजसंस्था पुनःस्थापनाका सम्बन्धमा विभिन्न पक्षबाट उठिरहेको आवाज सकारात्मक भएको बताएका हुन्।
‘विगतमा राप्रपा एक्लैले उठाउँदै आएको अजेण्डाको पक्षमा जनमत बढ्दै जानु र ती विषयमा राष्ट्रिय बहस हुनु राप्रपाको सफलता हो। हामी सही बाटोमा छौं भन्ने प्रमाणित हुँदैछ,’ उनले लेखेका छन्।
सोमबार विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए। ‘माग परिवर्तन: विचारभन्दा माथि देश’को दस्तावेज छलफल र बहशका लागि भन्दै उनले यी विषयमा आफ्ना विचार र अवधारणा सार्वजनिक गरेका हुन्।
उनले स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी गर्नुपर्ने धारणा अघि सारेका छन्।
उनले संसारका झण्डै २०० देशमध्ये लगभग ३० देशमा मात्र संघीयता अभ्यामा रहेको बताउँदै तात्कालिक धरातलीय परिस्थितिहरूका कारण संघीय प्रणाली अवलम्बन गरेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।