काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) का नेता महेन्द्र राय यादवले निर्वाचन आयोगले दलको आधिकारिकताका सन्दर्भमा कानुन बमोजिम नै फैसला गरेको प्रक्रिया दिएका छन्। आफूहरुले दलको आधिकारिकता दिन गरेको आग्रहलाई आयोगले कानुन र विधिलाई टेकेर फैसला गरेकोमा यादवले खुसी व्यक्त गरे।
‘हामीले पार्टी आधिकारिकताको माग गरेका थियौं। निर्वाचन आयोगले कानुनसम्मत फैसला गरेको छ। त्यसको स्वागत गर्दछौं,’ नेपाल लाइभसँग कुरा गर्दै यादवले भने, ‘अब हामी पार्टी विधान, विचार र सिद्धान्तका आधारमा अघि बढ्ने छौं।'
पार्टीको आधिकारिकता पाएको उपेन्द्र यादव पक्षका नेता यादवले अब पार्टीमा ३४ जना कार्यकारिणी सदस्य भएका बताए। 'कार्यकारिणी सदस्यहरु ३४ जना रहने भयौं। सांसदहरु यता बस्न चाहेमा सबै बस्न सक्नेछन्,’ यादवले भने।
आयोगले पार्टी आधिकारिकता विषयमा निर्णय गर्न सनाखत गर्ने क्रममा विपक्षमा हस्ताक्षर गरेकाले महन्थ ठाकुर लगायत उनी पक्षका नेताहरु अब जसपा नभएको यादवले जिकिर गरे। आयोगको फैसला बमोजिम महन्थ पक्षले अर्को पार्टी दर्ता गरेर जानसक्ने यादवको भनाइ छ।
आफूहरुले पार्टीको आधिकारिकता पाए पनि तत्कालै अरु कुनै पार्टीसँग एकता गर्ने सम्भावना नभएको यादवले बताए। आफूहरु ५ दलीय मोर्चामा रहने र मोर्चालाई नै दीर्घकालीन रुपमा अघि बढाउन लाग्ने उनको भनाइ छ।
'५ दलीय मोर्चालाई दीर्घकालसम्म लग्ने भनिएको छ। नेपालको राजनीतिलाई स्थायित्व दिने भनिएको छ। अहिलेको मुख्य समस्या भनेको कोरोना भाइरसको महामारी हो। महामारीले पारेको प्रभावबाट देशलाई कसरी मुक्त बनाउने भन्नेमा हाम्रो ध्यान रहन्छ,' यादवले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।