काठमाडौं- सीजी होल्डिङ्स तथा सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एसोसियसनको आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन्। उनी नाडाको हालको कार्यसमितिमा उपाध्यक्ष छन्।
नाडा सातवटै प्रदेशमा विस्तार भइसकेको अवस्थामा सबै प्रदेश संरचनालाई अझै व्यवस्थित र बलियो बनाइ नाडालाई संस्थागत रूपमा दरिलो बनाएर अगाडि बढाउने उद्देश्यका साथ उम्मेदवारी घोषणा गरिएको उनले बताएका छन्। 'अटोमोबाइल व्यवसाय सरकारलाई सर्वाधिक कर बुझाउने एवं निजी क्षेत्रमा ठूलो संख्यामा रोजगारी प्रदान गर्ने व्यवसाय हो। त्यसैले सरकार र व्यवसायी दुवैको उच्चतम हितमा काम गर्न मिल्ने सहज वातावरण बनाउन तथा अटो व्यवसायलाई सहज बनाउने गरी सरकारी नीति ल्याउन काम गर्ने लक्ष्य रहेको छ,' चौधरीले भने।
उनले कोरोना महामारी र लकडाउनका कारण नेपालका अटोमोबाइल व्यवसाय संकटमा परेकाले यस व्यवसायको पुनरुत्थानसँगै यस क्षेत्रमा नयाँ आकर्षण, नयाँ उत्साह ल्याउन जरुरी रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।