काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) विवादमा निर्वाचन आयोगले आफ्नो अन्तिम निर्णय सुनाउदै उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ। आयोगले आधिकारिकता पाउन नसकेको महन्थ पक्षलाई नयाँ दल दर्ताको 'विकल्प' दिएको छ।
जसपाका दुई पक्षमध्ये यादव पक्षलाई आधिकारिकता दिएपछि महन्थ ठाकुरको पक्षमा लागेका सांसदहरुको पद के हुने भन्ने प्रश्न सिर्जना भएको छ। निर्वाचन आयोगले फैसलामा सांसद पदका बारेमा बोलिएको छैन। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले यो क्षेत्राधिकार आयोगको नभएको जवाफ दिएका छन्।
संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जसपाका सांसद्हरु सोही पार्टीमा रहे सांसद् पद यथावत् रहने बताए। तर, ठाकुरले नयाँ पार्टी गठन गरे र जसपाका सांसद्हरु त्यता गए भनेचाहिँ सांसद् पद गुम्ने उनको भनाइ छ।
जसपा विवादको निरुपणअन्तर्गतको सुनुवाइका क्रममा कानुन व्यवसायीले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४४ को उपदफा (६) अनुसार निर्णय गर्दा दफा ३३ (२) पनि हेर्नुपर्ने कुरा बहसका क्रममा उठाएका थिए। उनीहरु (महन्थ पक्ष)ले ४० प्रतिशत पुर्याएर दल विभाजन नगरेकाले उनीहरुको सांसद पदको विषयमा राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३३ (२) आकर्षित हुने कानुन व्यवसायीको जिकिर थियो।
अधिवक्ता सुनिल पोखरेलले वहसका क्रममा यो कुरा उठाएका थिए। ४० प्रतिशत पुर्याएर विभाजन नभएकाले सांसद पद नगुमाउनका लागि महन्थ ठाकुरसहित उनी पक्षका सांसदले उपेन्द्र यादवकै पार्टीमा रहनुपर्ने नत्र गुम्ने पोखरेलको तर्क थियो।
राजनीतिक दल सम्बन्धी ऐनको दफा ४४ को उपदफा (६) अनुसार निर्णय गर्दा दफा ३३ (२) आर्कषित हुने पनि पोखरेलको जिकिर थियो।
राजनीतिक दल सम्बन्धी ऐनको दफा ३२ को उपधारा (१) को देहाय (ग) मा छुट्टै दल दर्ता गरेमा सांसदहरुले दल त्याग गरेको मानिने उल्लेख गरेको छ। ऐनको उक्त व्यवस्थाअनुसार महन्थ पक्षले अर्को दल दर्ता गरेमा उक्त पक्षमा लाग्ने सांसदको पद स्वत: गुम्ने छ।
जसपाको आधिकारिकता विवाद निरुपण गर्नका लागि आयोगले प्रमुख आयुक्त दिनेश कुमार थपलियाको नेतृत्वमा आयुक्तहरु ईश्वरी प्रसाद पौड्याल, राम प्रसाद भण्डारी, जानकी कुमारी तुलाधर र सगुन सम्शेर जवरा रहेको इजलास गठन गरेर सुनुवाइ थालेको थियो। इजलासले साउन ३ र ७ गते सुनुवाइ गरेको थियो।
इजलासको आदेशानुसार नै सामेबार कार्यकारिणी समितिका सदस्यहरूलाई उपस्थित हुन आदेश दिएर बहुमतका आधारमा आधिकारिकताको विवाद निरुपण गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।