काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन्।
निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता पाएपछि अध्यक्ष यादवले मंगलबार बस्ने गरी केन्द्रीय कार्याकारिणी समितिको बैठक बोलाएका हुन्।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा दिउँसो २ बजे बस्ने गरी कार्यकारिणी समितिको बैठक बोलाइएको नेता महेन्द्र राय यादवले बताए।
कार्यकारिणी समितिको बैठकमा संसदीय दलको विधान पारित र पार्टी आधिकारिकता पाएसँगै कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने यादवले बताए।
‘जसपा एक भएपनि संसदीय दलको विधान तयार हुन सकेको थिएन, त्यो विधान कार्यकारिणी समितिमा छलफल भइ पारित गर्नुपर्ने छ। पार्टीको आधिकारिकता पाएपछि कसरी अघ बढ्ने भन्ने विषयमा छलफल हुने छ,’ यादवले भने।
मंगलबार कार्यकारिणी समितिको बैठक सकिएपछि संसदीय दलको बैठक बस्ने पनि नेता यादवले जानकारी दिए।
संसदीय दलको बैठकले सरकारमा जाने मन्त्रीको विषयमा टुंगो लगाउने उनले बताए। जसपाको आधिकारिकता पाएको उपेन्द्र पक्षमा ३४ जना कार्यकारिणी समिति सदस्य र २२ जना सांसद पुगेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा जसपाको दुवै पक्षले पक्षमा मतदान गरेको थियो। तर, आधिकारिकताको मुद्दा निर्वाचन आयोगमा विचाराधीन रहेका कारण सरकारमा जाने निर्णय भने भएको थिएन।
आफूहरु सम्तवत: मंगलबार नै सरकारमा सहभागी हुने जसपाका अर्का एक नेताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।