काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले केपी शर्मा ओली सरकारको ज्यादतिका कारण अनपेक्षितरुपमा कांग्रेसले सरकार सञ्चालनको अवसर प्राप्त गरेको बताएका छन्।
उनले नेपाली कांग्रेसको नेतृत्वको सही समयमा सही निर्णय गर्ने सुझबुझ र परिपक्वताले मुलुकमा विधिको शासनलाई स्थापित गर्न मद्दत पुगेको धारणा राखे।
नेपाली कांग्रेस गुल्मीले सोमबार बिपी स्मृति भवन तम्घासमा आयोजना गरेको पाटी कार्यकर्ता भेटघाट कार्यक्रममा नेता महतले लोकतान्त्रिक मूल्यमान्यता, विधिको शासन एवं भ्रष्टाचारमुक्त र जनता केन्द्रित शासन स्थापित गर्न नसकेका कारण ओली सरकार बर्हिगमन हुनुपरेको बताए।
सहमहामन्त्री डा महतले भने “धैर्यता, संयमता र सुझबुझपूर्ण तरिकाबाट जसरी सत्ता सञ्चालनको जिम्मेवारीमा हामी पुगेका छौँ, त्यहीअनुरुप संयमित रुपमा शासन सत्ता सञ्चालन गर्नुपर्छ, कहीँकतै पनि प्रश्न गर्ने ठाउँ दिनुहुँदैन”।
उनले मुलुक सञ्चालन गर्नका लागि इमान, सीप र समपर्ण चाहिने भन्दै त्यो कुरा नेपालका कम्युनिष्टहरुमा नदेखिएको आरोप पनि लगाए। उनले जनताका चाहना र अपेक्षा बुझेर नै वर्तमान सरकारले काम गर्ने पनि बताए।
नेपाली कांग्रेस विधि र संविधानमा विश्वास गर्ने पार्टी भएका कारण जनताले यो सरकारप्रति ठूलो अपेक्षा गरेको भन्दै नेता महतले उक्त अपेक्षालाई पूरा गर्न पनि वर्तमान सरकारलाई कहीँकतै त्रुटि नगरी सजग भएर पाइला चाल्नसमेत आग्रह गरे।
कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले यो अवस्थामा नेपाली कांग्रेसको काँधमा सरकार सञ्चालनको जिम्मेवारी आउनु भनेको अवसर र चुनौती दुवै रहेकाले अग्नि परीक्षामा खरो उत्रिनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।