काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा आफ्नो पक्षमा न्यून केन्द्रीय सदस्य मात्रै उभिएपछि जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले ५१ जना मात्रै दल नभएको बताएका छन्। निर्वाचन आयोग कार्यालय परिसरमा पत्रकारहरुसँग बोल्दै उनले जसपाको अहिलेको स्थितिलाई दुर्भाग्यपूर्ण भएको बताए।
निर्वाचन आयोगमा आज भएको 'हेड काउन्ट'मा महन्थ ठाकुर र राजेन्द्र महतो पक्षमा १६ जना मात्रै उभिएका थिए। 'दल कतै गएको छैन। ५१ जना मात्रै दल होइन। यो कुरा जनताले बुझेका छन्। निर्वाचन आयोगमा हामीले विभाजनसम्बन्धी प्राविधिक काम गर्याैं। यो दुर्भाग्यपूर्ण हो,' उनले भने।
उनले एक साल पहिले उपेन्द्र यादव नेतृत्वको पार्टी विभाजन हुनै लाग्दा आफूहरुले बचाइदिएको दोहोर्याए। 'एक सालभित्रै यो अवस्था आउला भनेर हामीले कल्पना पनि गरेका थिएनौं। तर दुर्भाग्यपूर्ण अवस्था आयो। जनतामै जाने हो। दलसम्बन्धी, जनमतसम्बन्धी, जनाधारसम्बन्धी सम्पूर्ण निर्णय जनताले नै गर्ने हो,' उनले भने।
उनले एकताबद्ध भएर देशमा वैकल्पिक शक्ति निर्माण गर्ने, शोषण र उत्पीडनमा परेका जनतालाई न्याय दिनका लागि आफूहरुले जसपा बनाएको बताए। 'तर त्यसको ठीक विपरीत प्राविधिक विभाजन गर्न खोजियो। यो दुर्भाग्यपूर्ण हो,' उनको भनाइ थियो।
उनले जसपा विभाजित भए पनि जनताको मत विभाजन नहुने बताए। जनताचाहिँ वैकल्पिक शक्ति निर्माणको प्रक्रियामा अगाडि बढ्ने उनको भनाइ थियो।
उनले अहिले यादव पक्षमा खुलेका नेताहरु केही समयपछि आफूहरुतिरै आउने बताए।
उनले निर्वाचन आयोगले आधिकारिकता दिने नभएर जनताले दिने बताए। 'आयोगले त पार्टी फुटाउँछ। हामीले पार्टी फुटाउने माग नै गरेका थिएनौं,' महतोले भने। निर्वाचन आयोगको फैसलापछि आगामी निर्णय लिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।