बेनी- म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटकी एक महिला दुई छोरासहित एक सातादेखि बेपत्ता भएकी छन्।
विगत चार वर्षदेखि दरवाङमा डेरा लिएर बस्दै आएकी २६ वर्षीया कल्पना पुन, १० वर्षीय छोरा रोहित र ७ वर्षीय हेमन्तसहित सम्पर्कविहीन भएको कल्पनाका जेठाजु हीरा पुनले बताए।
'आफन्त भएका सबै ठाउँमा खोजी गरियो, परिवारबाट खोजी गर्दा पत्ता नलागेपछि प्रहरीलाई सहयोग मागेका छौं,' पुनले भने। विगत चार वर्षदेखि दरवाङस्थित केबी एकेडेमीमा छोरालाई पढाउन आएकी कल्पनाको खोजीमा परिवारका सदस्य, आफन्त, माइती पक्षले सहयोग अपिल गरेका छन्।
कल्पनाका श्रीमान् थगेन्द्र रोजगारीको सिलसिलामा यूएईमा छन्। इलाका प्रहरी कार्यालय दरवाङमा समेत उनीहरु बेपत्ता भएको बारे निवेदन दिइएको छ।
परिवारका सदस्यका अनुसार जेठ १३ गते दरवाङदेखि बेनी आउँदै गरेको बसमा चढेको सूचना आफन्तले पाएका छन्। दरवाङबाट काठमाडौं जाने बसमा चढेको र बेनीमा झरेको यातायात व्यवसायीले प्रहरीलाई जानकारी गराएका छन्। बेनीबाटै उनीहरु कहाँ गए भन्नेबारे कुनै जानकारी नभएको आफन्तको भनाइ छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।