काठमाडाैं- स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना भाइरसको महामारीका कारण आफ्नो मानसिकता बदलिएको बताएका छन्। सोमबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उनले आफू कोरोनाबाट संक्रमित भएपछि सेवामुलक ढंगले अगाडि बढ्नुपर्छ भन्ने अनुभव गरेको बताएका हुन्।
'कोरोनाको पहिलो लहरमा म आफैं संक्रमित भएर मानसिकता कस्तो हुँदो रहेछ भनेर अनुभव गरेको छु। दोस्रो लहर झनै खतरनाक किसिमले आयो। म धेरै लामो समय विभिन्न क्षेत्रमा काम गरेँ। तर कोरोना संक्रमणपछि मेरो मानसिकता सेवामूलक ढंगले काम गर्नुपर्छ भन्ने भयो,' उनले भने।
त्यसपछि आफूले विशुद्ध सेवामूलक भावनाले अस्पताल सञ्चालन गर्न खोजेको राज्यमन्त्री श्रेष्ठले बताए। 'मैले नाफा नलिने सर्तमा सेवामूलक हस्पिटल खोलौं भनेर केही हस्पिटल खोल्न खोजेको हो। त्यसमा सरकारी सुविधाभन्दा बढी होस् तर शुल्क कम होस्। त्यो विशुद्ध सेवामूलक भावनाले सञ्चालन गर्न खोजेको हो,' उनको भनाइ थियो।
आफू विगत आठ वर्षदेखि शिक्षा, स्वास्थ्य, खेलकुद समितिमा बसेको र भाग्यवश अहिले स्वास्थ्य राज्यमन्त्रीको हैसियतले काम गर्ने अवसर पाएको उनले बताए। स्वास्थ्य राज्यको दायित्व भएको बताउँदै उनले त्यसैअनुसार काम गर्ने प्रतिबद्धता जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।