वासिङटन डीसी- सोसल ईकमर्स कम्पनी सगुनले अमेरिकी कम्पनी एक्जेम्प्लर एलएलसीसँग रणनीतिक साझेदारी गरेको छ।
एक्जेम्प्लर कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा कम्पनीकी प्रबन्ध निर्दशक क्याथरिन ब्राण्डले स्टार्ट अप कम्पनीहरुलाई सहयोग गर्ने रणनीतिअनुसार नै सगुनलाई सहयोग गरिएको बताइन्। 'प्रविधिका क्षेत्रमा विद्यमान उद्योग तथा बजारमा नयाँ परिवर्तन ल्याउनसक्ने भिजनसहित काम गरिरहेका स्टार्ट अप कम्पनीहरुलाई हामी सहयोग गर्छौं र सगुन प्रविधिको क्षेत्रमा एउटा नयाँ सम्भावना बोकेर काम गरिरहेको कम्पनी हो भन्ने ठहर गरी रणनीतिक साझेदारी गरेको छौं,' उनले भनिन्।
सगुनका संस्थापक गोविन्द गिरीले सगुनलाई अन्तर्राष्ट्रिय बजारमा सहज प्रतिस्पर्धा गर्नसक्ने स्तरको प्राविधिक विकास तथा कर्पोरेट तहको व्यवस्थापनमा उच्च गुणस्तरीय योगदान गर्न सक्ने अमेरिकन कम्पनी एक्जेम्प्लरसँग साझेदारी गरिएको बताए। ‘भारतमा अनुसन्धान र प्रोडक्ट डेभलपमेन्ट तथा नेपालमा प्रयोगकर्ता र व्यवसाय वृद्धिका लागि टिम तयार गरी सुरुका दिनदेखि सगुनले काम गरिरहेको छ। अमेरिकामा टिम तयार गर्ने पूर्वयोजनाअन्तर्गत सगुनलाई अन्तर्राष्ट्रिय बजारमा सहज प्रतिस्पर्धा गर्नसक्ने स्तरको प्राविधिक विकास तथा कर्पोरेट तहको व्यवस्थापनमा उच्च गुणस्तरीय योगदान गर्न सक्ने अमेरिकन कम्पनी एक्जेम्प्लरसँग साझेदारी गरिएको हो,' उनले भने।
एक्जेम्प्लर कम्पनीसँगको साझेदारी सगुनको एउटा रणनीतिक विस्तार भएको उनले बताए। जसबाट सगुनले कानुनी सेवा, व्यवस्थापन, तेस्रो पक्षीय साझेदारी लगायत पुँजी वृद्धिका क्षेत्रहरुमा अन्तर्राष्ट्रियस्तरको सहयोग प्राप्त गर्ने गिरीले जानकारी दिए। 'यसर्थ एक्जेम्प्लर कम्पनीसँगको साझेदारीलाई सगुनले आफ्नो विस्तारित टिमको रुपमा लिएको छ,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।