काठमाडौं– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाबाट शपथ लिएका छन्।
श्रेष्ठलाई प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नै स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।
राज्यमन्त्री श्रेष्ठ शिक्षा व्यवसायी समेत हुन्। उनलाई कांग्रेसले समानुपातिक सांसद बनाएको थियो।
उनले पछिल्लो समय निजी अस्पतालमा लगानी बढाउँदै लगेका थिए। शिक्षा, बैंकलगायतका क्षेत्रसँगै कोरोना कालपछि स्वास्थ्य क्षेत्रमा समेत व्यापार सुरु गरेका उनले आफ्नो लगानीको लाभ ‘सुनिश्चित’ गर्न स्वार्थ बाझिने मन्त्रालयको जिम्मेवारी लिएको जानकारहरु बताउँछन्।
निजी अस्पताल सञ्चालनको अनुमतिदेखि नियमनसम्म मन्त्रालयले गर्ने भएकाले उनले स्वास्थ्य क्षेत्र रोजेको बुझिएको छ।
उनले ललितपुरको एकान्तकुनामा हेलोइस नामक बुटीक अस्पताल खोल्ने तयारी गरेका छन्। उक्त अस्पताल उच्च आय भएको वर्गलाई लक्षित गरेर ल्याउन लागिएको उनको भनाइ रहेको छ।
जनमैत्री फाउण्डेसनले सञ्चालन गरेको जनमैत्री अस्पताल उनकै नेतृत्वमा छ। श्रेष्ठले महेन्द्र नारायण निधी अस्पताल ट्रष्टको अध्यक्षता पनि गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।