काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केटाकेटी शिक्षा र विवाह सावधिक जीवन बीमा योजनापछि अझ परिस्कृत रुपमा ‘नौलो केटाकेटी जीवन बीमा योजना’ सावधिक जीवन बीमा ल्याएको छ।
नेपाल लाइफले ग्राहकको आवश्यकता तथा चाहना अनुसारका बीमा योजनाहरु बजारमा ल्याउने क्रममा यो नौलो केटाकेटी जीवन बीमा योजना ल्याएको जनाएको छ।
यस नौलो केटाकेटी जीवन बीमा योजनामा १ वर्षदेखि १७ वर्षसम्म उमेर समूहका बालबालिकाको ५ वर्षदेखि ३० वर्षसम्म समय अवधिको न्यूनतम एक लाखदेखि आम्दानीको आधारमा अधिकतम बीमांक छनोट गर्न सकिने कम्पनीले जनाएको छ।
यस सावधिक जीवन बीमालेखमा १ वर्षदेखि ७ वर्षसम्म उमेर भएको बीमितको बीमा प्रारम्भ मितिबाट २ वर्ष पूरा भएपश्चात वा ७ वर्ष उमेर पूरा भएपश्चात (जुन पछि आउँछ) मात्र बीमालेख अन्तर्गतको जोखिम प्रारम्भ हुनेछ। त्यसैगरी, बीमितको उमेर ८, ९ वर्ष भएमा १० वर्ष पूरा भएपछि र बीमितको उमेर १०, ११ वर्ष भएमा बीमाको वार्षिकोत्सव मितिदेखि बीमालेख अन्तर्गतको जोखिम प्रारम्भ हुनेछ।
बीमालेख परिपक्व अवधिसम्म बीमित जीवित रहेमा बीमांक रकम र आर्जित बोनस एकमुष्ठ प्रदान हुनेछ। कथमकदाचित बीमाको जोखिम प्रारम्भ हुनु अगावै बीमितको मृत्यु भएको खण्डमा सम्पूर्ण बीमा शुल्क (ऐच्छिक बीमा शुल्क बाहेक) प्रस्तावकलाई भुक्तान गरिनेछ।
त्यसैगरी, बीमा जोखिम प्रारम्भ पश्चात बीमितको मृत्यु भएमा तत्काल बीमांक रकमको २५ प्रतिशत भुक्तान दिइनेछ भने बाँकी ७५ प्रतिशत बीमांक रकम र आर्जित बोनस रकम व्याजसहित एकमुष्ठ बीमा अवधि समाप्तीमा प्रस्तावकलाई भुक्तान गरिने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।