काठमाडौं– ताप्लेजुङको मेरिङदेन गाँउपालिकामा निर्माण हुने ५० मेगावट क्षमताको युनाइटेड मेवा खोला हाइड्रोपावरका लागि सिटिजन्स इन्टरनेसनल बैंकको नेतृत्वमा सातवटा बैंकले ऋण लगानी गर्ने भएका छन्। सिटिजन्स बैंकको अगुवाइमा कुमारी बैंक, मेगा बैंक नेपाल, नेपाल इन्फ्रास्ट्रचर बैंक, सिद्धार्थ बैंक, नेपाल एसबीआई बैंक र सिभिल बैंकले ऋण लगानी गर्ने भएका हुन्।
कूल सात अर्ब रूपैयाँ (६ अर्ब ७५ करोड आवधिक कर्जा र २५ करोड चालु पुँजी कर्जा) ऋण लगानी गर्ने गरी प्रवर्द्धक कम्पनी र बैंकहरूबीच बिहीबार वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण सम्झौतामा हस्ताक्षर गरिएको छ।
सम्झौता अनुसार परियोजनाको अनुमानित लागत करिब नौ अर्ब रूपैयाँमा बैंकहरूले ७५ः२५ को ऋणःस्वपुँजी अनुपातमा छ अर्ब ७५ करोड रूपैयाँ बराबरको ऋण लगानी गर्ने छन् । यसमध्ये सिटिजन्स बैंकबाट एक अर्ब ४५ करोड रूपैयाँ, कुमारी, मेगा, सिद्धार्थ र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबाट समान एक/एक अर्ब रूपैयाँ, नेपाल एसबीआई बैंकबाट ८० करोड तथा सिभिल बैंकबाट ५० करोड रूपैयाँ लगानी हुनेछ। २५ प्रतिशत स्वपुँजी प्रवद्र्धकहरूबाट जुटाइने कम्पनीले जनाएको छ।
आयोजनाको निर्माण आगामी तीन वर्षभित्रमा नै सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ। जसका लागि नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग, वन तथा वातावरण मन्त्रालयलगायत सरोकारवाला निकायहरूमा गर्नुपर्ने सबै कानुनी प्रक्रिया पूरा गरी आयोजना निर्माणाधीन अवस्थामा रहेको कम्पनीले जानकारी दिएको छ।
निर्माण सम्पन्नपश्चात् उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको कोशी करिडोरअन्तर्गतको ढुंगेसाँघुस्थित सबस्टेसनमा जोडिनेछ। आयोजनाबाट हिउँदमा ९७.४२४ गिगावाट घन्टा र बर्खामा २०५.५८७ गिगावाट गरी वार्षिक ३०३.०११ गिगावाट घन्टा विद्युत् उत्पादन हुने जानकारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।