काठमाडाैं- अजरबैजानको एक अदालतले अर्मेनियाको १३ सैनिकलाई ६ वर्षको कैद सजाय सुनाएको छ।
गतवर्ष अजरबैजान सेना र जातीय अर्मेनियाली सेनाबीच हप्तौं नगोर्नो-काराबाख क्षेत्रमा युद्ध चलेको थियो।
युद्धविराम पछि अजरबैजानले डिसेम्बरमा अजरबैजानले आफ्नो क्षेत्रमा अवैध रूपमा प्रवेश गरेको आरोप लगाउँदै अर्मेनियाका ६० भन्दा बढी सेनालाई नियन्त्रणमा लिएको थियो।
ती मध्ये केहीलाई सामान्य सोधपुछ पछि रिहा गरिएको थियो। यस्तै, १४ जनालाई यस महिनाकाे सुरुमा विभिन्न अपराधकाे आराेपमा जेल सजाय सुनाइएकाे थियाे।
अजरबैजानको अपराध अदालतले गरेको निर्णय अनुसार यसहप्ता सजाय सुनाइएका १३ सैनिकलाई जेल सजाय पूरा भएपछि देश निकाला गरिनेछ।
अर्मेनियाका कार्यवाहक प्रधानमन्त्री निकोल पशिन्यानले बिहीबार यस बिषयमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टोलिफोन वार्ता गरेका थिए।
उनले पुटिनसँग अजरबैजानबाट आफ्ना सैनिकहरू फर्कनेबारे छलफल गरे रुसको समाचार एजेन्सी तासले जनाएको छ।
गतवर्ष सेप्टम्बर अन्तिमतिरबाट दुईवटा पूर्व सोभियत राष्ट्र आर्मीनिया र अजरबैजानबीच विवादित नगोर्नो-काराबाख क्षेत्रमा अन्तर्राष्ट्रिय चासो र पहलकाबीच पनि लडाइँ चलिरहेको थियो। तर, अचानक रुसले कदम अघि बढाउँदै शान्ति सम्झौतामा भूमिका निर्वाह गरेकाे थियाे।
यद्यपि, आर्मीनिया, अजरबैजान र रुसका नेताहरूले अनलाइनमार्फत् छलफल गरेपछि नौ बुँदे सम्झौता गरेसँगै नगोर्नो-काराबाख क्षेत्रको हिंसा रोकिएको थियो। त्यसअघि अजरबैजानले युद्ध जित्दै गएको देखिएको थियो।
उसको फौजले सन् १९९४ देखि आर्मीनियाको नियन्त्रणमा रहेका अधिकांश अजरबैजानका प्रान्तहरू फिर्ता लिँदै गएकाे थियाे।
तीन देशका नेताहरूबीच नगोर्नो-काराबाख आसपासका बाँकी क्षेत्र आर्मीनियाली सेनाले छाड्ने र त्यसमा अजरबैजानको नियन्त्रण हुने कुरा स्वीकार गरेका थिए।
रुसको शान्ति स्थापक सेनाले त्यहाँ लडाइँ नहोस् भन्ने सुनिश्चित गर्न दुवै पक्षलाई आमने-सामने हुन नदिने जिम्मेवारी पाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।