काठमाडाैं- भारतले दोस्रो एकदिवसीय खेलमा श्रीलंकामाथि ३ विकेटको रोमान्चक जित हात पारेको छ।
जितको लागि २ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४९.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेकाे हाे। योसँगै तीन खेलको सिरिज भारतले एक खेल अगावै जितेको छ।
भारतका लागि तल्लोक्रममा दीपक चाहरले अविजित रहँदै ८२ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६९ रन बनाए।
यस्तै, भुवनेश्वर कुमार १९ रनमा अविजित रहे। सूर्यकुमार यादवले ४४ बलमा ६ चौकासहित ५३ रनको योगदान दिए।
यस्तै, मनिष पाण्डे ३७, क्रुनाल पान्ड्या ३५ र कप्तान शिखर धवन २९ रनमा आउट भए।
श्रीलंका वानिन्दु हसरंगाले ३ विकेट लिए। यस्तै, कसुन रजिथ, लक्शान सन्दाकान र दासुन शनाकाले एक/एक विकेट लिए।
त्यसअघि आर प्रेमाडासा स्टेडियम कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७५ रन बनाएको थियो।
श्रीलंका मध्यक्रमका चरिथ असालान्काले ६८ बलमा ६ चौकासहित सर्वाधिक ६५ रनको योगदान दिए। उनकाे ओडिआई करिअरको पहिलो अर्धशतक हाे।
यस्तै, ओपनर अविष्का फ्रेनान्डोले ७१ बलमा ४ चौका र १ छक्कासहित ५० रनको योगदान दिए। फ्रेनान्डोकाे यो ओडिआई करिअरको चौथो अर्धशतक हो।
तल्लोक्रमका ब्याट्सम्यान चामिका करुणारत्ने ४४ रनमा अविजित रहे। यस्तै, मिनोद भानुका ३६ र धनन्जय डि सिल्भा ३२ रनमा आउट भए। अन्य ब्याट्सम्यानले भने ठूलो इनिङ खेल्न सकेनन्।
भारतका स्पिनर युजभेन्द्र चहल र भुवनेश्वर कुमारले ३/३ विकेट लिए । दीपक चाहरले २ विकेट लिए।
पहिलो खेलमा भारत ७ विकेटले विजयी भएको थियो। तेस्रो खेल शुक्रबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।