महोत्तरी– प्रदेश सरकारले पढाइको सम्पूर्ण खर्च ब्यहोरेपछि महोत्तरी रामगोपालपुर–५ की बबिता मररले पढ्न पाउने भएकी छिन्।
शनिबार घरमै आएर प्रदेश सभा सांसद रानी तिवारी शर्माले बबिताको पढ्ने खर्च प्रदेश सरकारले नै व्यहोर्ने जानकारी दिइन्। सो खबरपछि बबिताको खुसीको सीमा थिएन।
दलित समुदायकी बबिताको घरको आर्थिक अवस्था अत्यन्त नाजुक भएपछि भाइबहिनीलाई मजदूरी गरेर पालनपोषण गर्दै आएकी थिइन्। स्थानीय आधारभूत विद्यालयमा कक्षा ५
सम्म अध्ययन गरेकी बबिताले बीचमै पढार्इलेखार्इ छोडेकी थिइन्। आमाको मृत्यु भएपछि स–साना भाइबहिनीको स्याहारसुसारको जिम्मेवारी आफूमाथि परेपछि आफू जेनतेन गर्दै परिवार पाल्दै आएको बबिताले दुखेसो सुनाइन्।
बबिताले भनिन्, ‘बुबाले घरघरमा गएर भिक्षा मागेर ल्याउनुहुन्छ। घर भत्किएको छ। पानी पर्दा त भिज्दै बस्नुपर्ने अवस्था सिर्जना हुन्छ।’ उनी बस्दै आएको खरले छाएको फुसको सानो घर पनि भत्किएको छ।
विभिन्न सञ्चारमाध्यममा उनको अवस्थाबारेमा खबर प्रकाशित भएपछि आफूले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसँग यससम्बन्धमा कुराकानी गर्दा उनले बबिताको पढाइको खर्च प्रदेश सरकारले लिने जनाएपछि आफू उनलाई भेट्नको लागि घरमै आएको सांसद तिवारीले बताइन्।
प्रदेश सरकारको ‘बेटी पढाउ बेटी बचाउ’ अभियानलाई सार्थक तुल्याउनको लागि यो सुनौलो मौका रहेकाले प्रदेशभित्र रहेका एक जेहेन्दार विद्यार्थीलाई हामीले कदापि गुमाउन नसक्ने भन्दै तत्काल बालिकाको घरमै पुगेर सो कार्य गरेको सांसद तिवारीको भनाइ छ।
रामगोपालपुर नगरपालिकाले बबिता र उनका तीन भाइबहिनीलाई तत्काल कापी, कलम र ब्यागसमेत उपहारस्वरुप दिएको छ। यस सम्बन्धमा नगरप्रमुख अशोककुमार मण्डलले जन्मदर्तालगायतका कागजात दुरुस्त गरेर बबिता र उनका भाइबहिनीलाई विद्यालयमा भर्ना गराउने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै बबिता बस्दै आएको घर तत्काल मर्मत गर्न आवश्यक रहेकाले त्रिपाल सहयोग गर्ने र पछि आवश्यक देखिएको सबै सहयोग गर्ने नगरप्रमुख मण्डलले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।