बाबियाचौर– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा मदिरा प्रतिबन्ध लगाउने निर्णय भएको छ।
वडा कार्यालयमा शनिबार आयोजित जनप्रतिनिधि, युवा क्लब, आमा समूह र अगुवाको भेलाले विवाह, छेवार, किरियालगायत संस्कारगत कार्य तथा सार्वजनिक स्थलमा जाँड, रक्सीलगायत मदिरालाई प्रतिबन्ध लगाउने निर्णय भएको हो। वडाध्यक्ष रेशम जुक्जालीले सरोकारवालाको सुझाव र समर्थनमा भएको निर्णय कार्यान्वयन गरेर बिमलाई विकृतिरहित नमूना वडा बनाउने बताए।
भेलाले वडाका सबै बस्तीलाई समेट्ने गरी बिम्वाङ, बिम औल, तल्लोगाउँ, डाँडागाउँ र ढुनोटमा टोल सुधार समिति गठन गरी सामाजिक र विकास निर्माणका कामलाई सहज बनाउने निर्णय गरेको वडा सदस्य बुद्धीबहादुर जुक्जालीले जानकारी दिए।
यसअघि स्थानीय आमा समूह र युवा क्लबले बिम्बाङ र तल्लो गाउँमा सार्वजनिक कार्यक्रममा मदिरालाई प्रतिबन्ध लगाएको थियो। साँझ ५ बजेभन्दा अघि मदिरा सेवन गर्नेलाई १ हजार र बिक्री गर्नेलाई २ हजार रुपैयाँ जरिवाना तोकिएको हिराजीत स्मृति युवा क्लबका अध्यक्ष प्रेम जुक्जालीले बताए।
मदिराको अत्याधिक र अव्यवस्थित प्रयोगका कारण संस्कारगत कार्य महँगो भएको, सामाजिक विकृति बढेको र सुरक्षामा असर परेको ठहर गर्दै मदिरालाई प्रतिबन्ध लगाउने निर्णय भएको हो।
सोही भेलाले मालिका क्षेत्रको राष्ट्रिय वनलाई वडास्तरीय सामुदायिक वन समूहको मातहत ल्याउने निर्णयसमेत गरेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।