Photo : Phill Magakoe/AFP
काठमाडौं- दक्षिण अफ्रिकी सेनाले देशको राजधानी जोहानसबर्गसहित दुई प्रान्तमा सैनिक परिचालन गरेको छ। अपराधिक घटना बढेसँगै प्रहरीलाई सहयोग गर्न सेना परिचालन गरिएको हो।
पूर्वराष्ट्रपति जेकब जुमाले अदालतको मानहानिका लागि जेल सजाय भोग्न प्रहरीसमक्ष आत्मसमर्पण गरेसँगै उनको रिहाइको माग गर्दै देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन्।
जुमाका समर्थकहरुले विरोध प्रदर्शन गरिरहँदा देशको राजधानी लगायत केही स्थानका पसलहरुमा लुटपाट र आगजनीकाे घटना बढिरहेकाे छ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन नसकेपछि सेना परिचालन गरिएको हो। ‘गौतेंग र क्वाजुलु-नताल प्रान्तमा भइरहेको अशान्तिलाई रोक्न दक्षिण अफ्रिकी राष्ट्रिय रक्षा बलले गरेको अनुरोध अनुरुप सेना परिचालन गरिएको छ,’ सेनाले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
आफ्नो नौ वर्षे कार्यकालका बेला भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न दिइएको आदेश नमानेको आरोपमा पूर्वराष्ट्रपति जुमालाई गत हप्ता १५ महिना लामो जेल सजाय सुनाइएको थियो।
स्थानीय समय अनुसार गत बुधवारको अन्त्यसम्ममा आत्मसमर्पण नगरे ७९ वर्षका पूर्वराष्ट्रपतिलाई पक्राउ गर्न आफूहरू तयारी अवस्थामा रहेको प्रहरीले चेतावनी दिएको थियो।
उक्त चेतावनीपछि उनी अबेर आफ्नो निवास नजिकै रहेको जेल पुगेका थिए। तर, उनका समर्थकहरुले उनको रिहाइका लागि निरन्तर प्रदर्शन गर्दै आएका छन्।
प्रहरीका अनुसार उनी पक्राउ परेयता प्रदर्शनमा उत्रिने र लुटपाटको घटनामा संलग्न ६ जना मारिएका छन्। यस्तै, दुई सयभन्दा बढीलाई पक्राउ गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।