काठमाडौं- मन्त्रिपरिषद्को निर्णयअनुसार प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका सहकुलबहादुर थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
प्रहरी प्रधान कार्यालयमा आइतबार प्रहरी महानिरीक्षक (आइजी) शैलेश थापा क्षेत्रीले एआइजी थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
समारोहमा आइजी क्षेत्रीले बधाई दिँदै पदोन्नतिसँगै बढेको दायित्व र जिम्मेवारीलाई प्रतिबद्वता अनुरूप नयाँ उर्जाका साथ निर्वाह गर्न निर्देशन दिए।
संगठनको थप सुदृढिकरण र विकासका लागि व्यावसायिकता र पेशागत धर्ममा रहेर हरेक कार्यलाई सहजरूपमा लिदै स्वमूल्याङ्कन गरी पूर्ण निष्ठाका साथ अगाडि बढ्नुपर्ने उनले बताए।
एआइजीको फुली लगाएपछि थापाले प्रहरी संगठनबाट प्राप्त गहन जिम्मेवारीलाई मन, बचन र कर्मका साथ संगठनको उद्देश्य प्राप्तिका खातिर काम गर्ने प्रतिवद्धता व्यक्त गरे।
आफू बोलाई भन्दा गराइमा विश्वास गर्ने भएकाले आफ्नो बुद्धि, विवेक र इमानदारिताका साथ संगठनको श्रीवृद्धिमा लाग्ने उनले उल्लेख गरे।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।