काठमाडाैं- नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले लगानी व्यवस्थापन सेवाअन्तर्गत आफ्ना लगानीकर्ताहरुका लागि लगानी गर्ने नयाँ योजना ल्याएको छ।
नेपालमै पहिलोपटक अप्रत्यासित रुपमा हुने दुर्घटनाका कारण पर्नसक्ने आर्थिक भारलाई समेत वहन गर्न सक्ने किसिमको लगानी व्यवस्थापन योजना ल्याएको कम्पनीले जानकारी दिएको छ।
'यस योजनाअन्तर्गत व्यवस्थित लगानी व्यवस्थापनका साथै लगानीकर्ताहरुलाई पाँच लाख रुपैयाँसम्मको दुर्घटना बिमा प्रदान गरिनेछ,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सो योजनामा लगानी व्यवस्थापन सेवाको पहिलो वार्षिक शुल्कमा ५० प्रतिशत छुट दिइने र परिवारको पाँच जना सदस्यलाई निःशुल्क डिम्याट खाता तथा मेरो सेयर खोलिने कम्पनीले जनाएको छ। यस्तै पहिलोपटक थैली एप डाउनलोड गर्दा १०० रुपैयाँको टपअप, निःशुल्क सम्पत्ति व्यवस्थापन परामर्श सेवा र अनुसन्धानमा आधारित प्रतिवेदनमा पहुँचजस्ता सुविधा दिइने कम्पनीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।