कैलाली- अन्तरजातीय विवाह गरेर जङ्गलमा बसेका जोडी घर पुग्ने बितिक्कै युवतीका आफन्तले जबरजस्ती छुट्याइदिएका छन्।
कैलालीको भजनी नगरपालिका ७ का प्रकाश विश्वकर्मा र मालती रावल आफैंले राजखुसी विवाह गरेका थिए। उनीहरु विवाहको २१ दिनपछि जङ्गलबाट घर पुगेका थिए।
घर पुग्नेबित्तिकै युवतीका आफन्तले युवतीलाई जबरजस्ती लिएर गएको भजनी नगरपालिकाकी उपप्रमुख छायादेवी देवकोटाले जानकारी दिइन्। उनले भनिन्, ‘उनीहरु जङ्गलबाट घर आएपछि युवतीका आफन्तले आक्रमण गरेको खबर पाएँ। अहिले युवतीलाई आफन्तले लगेका छन्। युवक भने आफ्नै बुबासँग छन्।’
आफूहरुले प्रहरी प्रशासनलाई खबर गरेको उनले जानकारी दिइन्। अब दुवै पक्षलाई बोलाएर छलफल गर्ने उनको भनाइ छ।
प्रहरीले युवकलाई कार्यालय बोलाएको छ। इलाका प्रहरी कार्यालय भजनीका प्रमुख प्रहरी निरीक्षक नर बहादुर साउदले घटनाबारे जानकारी लिन युवकलाई बोलाएको बताए।
उक्त जोडीले सामाजिक सञ्जालमार्फत आफूहरुलाई ज्यान मार्ने धम्की आएकाले जङ्गलमा लुक्न बाध्य भएको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।