काठमाडौं– कैलालीको टीकापुर नगरपालिका–१ का दिलीप विष्टका ३ वर्षीय छोरा विवेक विष्टको हत्यामा उनकै विवेककी दिदी नाता पर्ने १५ वर्षीया किशोरीको संलग्नता रहेको खुलेको छ।
हत्यामा संलग्न रहेको भन्दै प्रहरीले विवेकी दिदी नाता पर्ने १५ वर्षीया किशोरीलाई पक्राउ गरेको छ। यस्तै, उनलाई सहयोग गरेको आरोपमा किशोरीकी साथी १४ वर्षकी अर्की किशोरीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
१५ वर्षीया दिदीले सोमबार (असार २१ गते) बिहान ११ बजे जामुन खाने जाने भनेर विवेकलाई घरबाट लगेकी थिइन्। तर, घर फर्किने बेला किशोरी एक्लै आएकी थिइन्।
प्रहरीका अनुसार १५ वर्षीया किशोरीले रुखमा जामुन नभेटेपछि भाइ (विवेक)लाई घर जाउ भनेको, तर नमानेर छिमेकीको घरमा खेल्न गएको बताएकी थिइन्। भाइ पटक–पटक खेल्न जाने गरेको छिमेकी आफन्तको घरमा खेल्न गएको भन्दै १५ वर्षीया किशोरी घर आएकी थिइन्। घरमा आएर उनले बालककी आमालाई ‘भाइ खेल्न गएको छ, ल्याएर आउनुहोला’ भन्दै पुनः घरबाट बाहिरिएकी थिइन्।
तर, उनले भनेको छिमेकीको घरमा विवेक नगएको फेला पर्यो। त्यसपछि उनले जामुनको रुख नजिकै एउटा रिक्सा रोकिएको, त्यो रिक्सा पछि नभेटिएकाले ‘रिक्सावाला’ले नै भाइलाई लगेको हुनसक्ने बताएकी थिइन्।
बाबु–आमाले पनि ‘रिक्सावाला’ले नै अपहरण गरेको हुनसक्ने भन्दै सोमबार इलाका प्रहरी कार्यालय टीकापुरमा उजुरी दिएका थिए। बालक बेपत्ता भएको उजुरीपछि सोमबारदेखि नै अनुसन्धानमा जुटेको प्रहरीले बुधबार साँझ ५ः३० बजेतिर घरभन्दा ५ किलोमिटर टाढा घोयली सामुदायिक वनस्थित जमरा कुलोको किनारमा विवेकको शव फेला पारेको थियो।
बालकको खोजीका क्रममा विवेक र उनकी दिदी घरबाट करिब ५०० मिटर टाढा जमरा कुलोको नजिक देखा परेको खुलेको थियो। त्यसपछि प्रहरीले १५ वर्षीया किशोरीलाई शंकाको घेरमा राखेर अनुसन्धान अगाडि बढाएको थियो।
किशोरीले दिएका सूचना र तथ्यहरु एकपछि अर्को गरी गलत देखिन थालेपछि प्रहरीले उनको सम्पर्कमा रहेका अन्य साथीको विवरण पनि केलाउन थालेको थियो। अनुसन्धानकै क्रममा किशोरीले आफ्नी साथी (टीकापुर नगरपालिका–१, ब्लक नम्बर ५ बस्ने १४ वर्षीया किशोरी)लाई चाँदीका बाला राख्न दिएको खुल्यो। विवेकका आमा–बुवाले ती बालाहरु विवेककै भएको प्रमाणित गरेपछि प्रहरीले विवेककी दिदी नाता १५ वर्षीया किशोरी र उनकी १४ वर्षीया साथीलाई पक्राउ गरेको थियो।
प्रहरीलाई दिएको बयानमा १५ वर्षीया किशोरीले पारिवारिक इबी र डाहाका कारण योजना बनाएर विवेकको हत्या गरेको स्वीकारेकी छन्। घरबाट करिब ५०० मिटर टाढा रहेको जमरा कुलोको डिलमा लगेर विवेकले खुट्टामा लगाएको चाँदीको बाला फुकालेको र त्यसपछि कुलोमा खसालेर हत्या गरेको किशोरीले स्वीकार गरेकी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिएका छन्।
प्रहरीले विवेककी दिदी नाता पर्ने १५ वर्षीया किशोरी र उनकी साथी १४ वर्षीया किशोरी गरी दुवै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।