प्रतिकात्मक तस्वीर
काठमाडौं– अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर दार्चुलामा ३ जनाको मृत्यु भएको छ। पहिरोमा परेर १ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।
नौगाड गाउँपालिका–३ खार चौखुट्टेमा आएको पहिरोले घर पुरिँदा सोही ठाउँकी ७२ वर्षीया गेउली ठगुन्ना र उनकी ३ महिनाकी नातिनी मन्जरीको मृत्यु भएको छ। सोही ठाउँका २९ वर्षीय लक्ष्मण सितोलीको पनि पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर भट्टले जानकारी दिए।
२९ वर्षीया लक्ष्मणको भने घट्ट जाने क्रममा पहिरोमा पुरिएर मृत्यु भएको हो। पहिरोमा परेर नौगाड गाउँपालिका–३ कै १८ वर्षीया हरमति ठगुन्ना घाइते भएकी छन्।
अविरल वर्षापछि स्थानीय खार खोलामा आएको बाढीले ३२ किलोवाट क्षमताको खारखोला लघु जलविद्युत आयोजना पनि बगाएको प्रहरीले जानकारी दिएको छ।
बाढीले खार र जामिर जोड्ने झोलुङ्गे पुल, निर्माणाधीन अवस्थामा रहेका ३ वटा पक्की पुल, ३ वटा घट्ट, र खानेपानी आयोजनाको मुहान पनि बगाएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।