काठमाडौं- नेपाली महिलालाई कम्बोडिया पुर्याएर बेचबिखन गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले कम्बोडिया पुर्याएर एक नेपाली महिलालाई बेचबिखन गरेको आरोपमा धनकुटाको शहीदभूमि गाउँपालिका–२ का किसान राईलाई पक्राउ गरेको हो। असार १२ गते पक्राउ परेका राईविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको छ।
राईले फेसबुकमार्फत चिनजान भएकी एक महिलालाई कन्सट्रक्शन तथा व्यापारको काममा कम्बोडिया पठाउने भन्दै त्यहाँ पुर्याए बेचेको आरोप लागेको छ।
कम्बोडिया जान ४ लाख ५० हजार लाग्ने भन्दै उक्त शुल्कसमेत लिएर ती महिलालाई काठमाडौंबाट काँकडभिट्टा, आसाम, नागाल्याण्ड, ग्वाटी, मनिपुरबाट पैदल हिँडेर भारत-म्यानमारको नाका हुँदै म्यानमार पुर्याई त्यहाँबाट थाईल्याण्ड हुँदै कम्बोडिया लगेर बेचेको उनीमाथि आरोप छ। मासिक १ लाख कमाइ हुने भन्दै कम्बोडियामा पुर्याएपछि महिलालाई यौन दाशीको रुपमा बेचेको आरोप राईमाथि छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।