काठमाडौं- अविरल वर्षापछि अधिकांश जिल्लाको जनजीवन प्रभावित बनेको छ। वर्षाका कारण आएको बाढी र पहिरोले कतिपय स्थानमा धनजनको क्षति भएको छ।
बाढी तथा पहिरोका कारण राजमार्गहरु बन्द हुँदा यात्रुहरु अलपत्र परेका छन्। सडक विभागका अनुसार बिहीबार विहान साढे १० बजेसम्म देशभरका १३ राष्ट्रिय राजमार्ग अवरुद्ध रहेका छन्। त्यस्तै ५६ राजमार्ग एकतर्फी सञ्चालनमा रहेका छन्। विभागका अनुसार दुबै तर्फ सुचारु रहेका राजमार्गको संख्या ३५ रहेको छ। राजमार्गहरु पहिरोले अवरुद्ध बन्दा सवारीको लाम लागेको छ।
वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्ड अवरुद्ध भएको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती थानाचोक नजिकै बाढीले राजमार्गको ह्युमपाइप बगाउँदा राजमार्ग अवरुद्ध भएको हो।
डुम्रे–बन्दीपुर सडकखण्ड पनि अवरुद्ध भएको छ। बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिराका कारण उक्त सडकखण्ड अवरुद्ध भएको हो।
नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ।
पहिरो खस्दा सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने मुख्य राजमार्ग भीमदत्त राजमार्ग अवरुद्ध भएको छ भने तनहुँमा पृथ्व राजमार्ग अवरुद्ध भएको छ।
तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित पृथ्वीराजमार्ग अवरुद्ध भएको हो। त्यस्तै अरनिको राजमार्ग पनि अवरुद्ध रहेको छ। राप्ती राजमार्ग अन्तर्गत पश्चिम रुकुममा पनि सडक अवरुद्ध भएको छ।
राजमार्गहरुको अवस्थाबारे जान्नका लागि यहाँ क्लिक गर्नुहोस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।