काठमाडौं- आज कोशी, नारायणी र यसका सहायक नदीहरुमा बहाब बढ्ने र केहीमा सतर्कता तह पार गर्न सक्ने सम्भावना रहेको छ। त्यस्तै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ लगायतमा बहाब बढ्ने र केही सना सहायक नदीहरुमा आकस्मिक बाढी आउँदा सतर्कता तह पुग्न सक्ने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
आज बिहानको मापन अनुसार कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाब सामान्य रहेको छ। सुनकोशी, सप्तकोशी, कालीगण्डकी, सेती खोला, रिदी खोलामा बहाव बढ्दो क्रममा रहेको र सवैमा सतर्कता तह भन्दा तलै रहेको छ।
बाढीले नारायणी बढीगाड, रुद्रबेनी जलमापन केन्द्र र तमोर, मुलघाट जलमापन केन्द्रमा सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ।
बिहीबार कर्णाली, महाकाली र यसका सहायक नदीहरुमा बहाव केही बढ्ने, कोशीका सहायक नदीहरु सुनकोशी, भोटेकोशी, तामाकोशी, दुधकोशी, अरुण, तमोर तथा नारायणी र यसका सहायक नदीहरु विशेषगरी त्रिशुली, बुढीगण्डकी, कालीगण्डकी, मर्स्याङदी लगायतमा बहाब उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह पार गर्न सक्ने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ।
त्यस्तै पश्चिम राप्ती, बबई लगायतमा बहाब केही बढ्ने, कन्काई, कमला, बागमती,पुर्वी राप्ती, तिनाउ र यिनका सहायक नदीहरुमा बहाब उल्लेख्य बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाब भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान गरिएको छ।
आज प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, खोटाङ, उदयपुर, भोजपुर, ओखलढुङ्गा, संखुवासभा, सोलुखम्बु, तेह्रथुम, पाँचथर, ताप्लेजुङका नदीमा आकस्मिक बाढीको सम्भावना छ।
त्यस्तै प्रदेश २ को बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, सिराहा, महोत्तरी, बागमती प्रदेशको मकवानपुर, चितवन, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुली, रामेछाप, रसुवा, गण्डकी प्रदेशको तनहुँ, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, नवलपुर, गोरखा, मनाङ, मुस्ताङ, लुम्बिनी प्रदेशको नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुम पूर्व, कपिलवस्तु,दाङ, रोल्पा, रुपन्देही, बकि, बर्दिया, कर्णाली प्रदेशको रुकुम पश्चिम, जाजरकोट, कालिकोट, दैलेख, सुर्खेत, सल्यान, सुदूरपश्चिम प्रदेशको डोटी, दार्चुला, डडेल्धुरा, बझाङ, बाजुरा, अछाम, कञ्चनपुर, कैलाली र आसपास जिल्ला भई बहने स-साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।