काठमाडौं- लगातारको वर्षाले देशका विभिन्न नदीमा बाढी आएको छ भने कतिपयले सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले कतिपय जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले तमोर नदीको माझिटारस्थित जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदी तटिय क्षेत्रमा दिउँसोसम्मै सतर्क रहन आग्रह गरेको छ।
चितवन जिल्लाको माडी क्षेत्रको छरछरे लगायत आसपासका क्षेत्रमा विहान ६ बजेअघि भारी वर्षा भएको र थप हुनसक्ने हुँदा खहरेखोलामा आकस्मिक बाढी जानसक्ने महाशाखाले जनाएको छ।
त्यस्तै नवलपुरको अरुङग र आसपासको क्षेत्रमा पछिल्लो भारी वर्षा भएको र थप वर्षा हुनसक्ने भएकाले सो क्षेत्रका ससाना नदीहरूमा आकस्मिक बहाव आउन सक्ने छ।
दुधकोशी नदीको रबुवाबजारस्थित जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ।
नवलपुरको देध गाँउ र आसपासको क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएको र थप वर्षा हुनसक्ने भएकाले सो क्षेत्रका नदीनालामा बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
सुर्खेतको खानीखोला र आसपासको क्षेत्रमा भारी वर्षा भएको र थप वर्षा हुनसक्ने भएकाले बाढीको जोखिम उच्च रहेको महाशाखाले जनाएको छ।
तनहुँको बिमलनगर, बन्दीपुर र आसपासका क्षेत्रहरूमा भारी वर्षा भएको र थप वर्षा हुनसक्ने भएकाले बाढीको जोखिम उच्च रहेको छ।
इलाम, झापा र आसपासका क्षेत्रहरूमा भारी वर्षामापन भएको र थप हुन सक्ने भएकाले कन्काई, बिरिङ्ग, केर्खा लगायत अन्य साना खोलामा सतर्कता तह आसपासको बाढी आउन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।