काठमाडौं– बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गतको सार्वजनिक निर्माण कार्यान्वयन इकाइ धादिङका इन्जिनियर २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सार्वजनिक निर्माण कार्यान्वयन इकाइ धादिङ (गजुरी)का इन्जिनियर (करार सेवामा कार्यरत) बिनोद सापकोटालाई २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।
अख्तियारका अनुसार खेलकुद मैदान निर्माणको ठेक्का पाएका कम्पनीले निर्माण सम्पन्न गरी धरौटी रकम फिर्ता लैजान खोज्दा सापकोटाले २० हजार रुपैयाँ घुस मागेका थिए।
पूर्व सूचना र उजुरीका आधारमा अख्तिायर दुरुपयोग अनुसन्धान आयोगको काठमाडौं टंगालस्थित केन्द्रीय कार्यालयबाट खटिएको टोलीले इन्जिनियर सापकोटालाई २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।
धादिङको थाक्रे गाउँपालिका–२ हुलाकडाँडाबाट पक्राउ परेका सापकोटामाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।