काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलसँग समसामयिक विषयमा छलफल गरेको छ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुधबार महानिर्देशक पौडेलसँग अटोमोबाइल व्यवसायका समस्याहरूबारे छलफल गरेको हो।
छलफलमा नाडाका अध्यक्ष दुलालले नाडाले फेयर ट्रेडमा विश्वास गर्दै आएको उल्लेख गर्दै सवारीसाधन आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याबारे जानकारी गराएका थिए। नाडाका उपाध्यक्ष तथा सवारीसाधन समितिका सभापति करण चौधरीले एजेन्सी दर्ताका सम्बन्धमा देखापरेका समस्याहरूबारे महानिर्देशक पौडेललाई जानकारी गराए।
त्यसैगरी नाडाका महासचिव सुनिल रिजालले स्पेयर पार्टस् आयातको सम्बन्धमा देखापरेका विभिन्न समस्याहरू राख्दै एक्जिम कोडको नवीकरण पाँच वर्षका लागि हुने व्यवस्था रहेकोमा व्यापारिक फर्म कम्पनीहरूलाई पनि सो सुविधा दिनुपर्ने तथा नयाँ एक्जिम कोड लिँदा बैंक ग्यारेण्टी राख्नुपर्ने भए पनि पुराना फर्महरूले बैंक ग्यारेण्टी राख्नु नपर्ने व्यवस्थाका लागिसमेत आग्रह गरे। नाडाका कोषाध्यक्ष सुरेन्द्र उप्रेतिले भारतबाट उच्च गुणस्तरका लुब्रिकेण्टस् मात्र आयात गर्न सकिने व्यवस्थाका लागि आग्रह गरे।
विभागका महानिर्देशक पौडेलले अटोमोबाइल क्षेत्रमा भएका समस्याहरूलाई बुँदागत रूपमा विभागमा पठाउन आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।