काठमाडाैं- नेपाल-चाइना ट्रेड एण्ड इन्डस्ट्रियल एसोसियसनले दोलखा प्रहरीलाई विपद् प्रतिकार्यका लागि आवश्यक सामग्रीहरु हस्तान्तरण गरेको छ।
एसोसिएसनले बुधबार विपद् प्रतिकार्य तथा व्यवस्थापनका लागि आवश्यक सामग्रीहरु लाइफ ज्याकेट, ट्रेकिङ ब्याग, रेनकोट, गमबुट, कोदालो, करौती, त्रिपाल, डोरीलगायतका सामग्री हस्तान्तरण गरेको हो। एसोसियसनकी अध्यक्ष अन्जु पौडेलले दोलखा जिल्लामा यस वर्ष हालसम्म विपद् नआएको र आइहालेमा त्यसको व्यवस्थापनका लागि पूर्वतयारीस्वरुप सामग्री दिइएको बताइन्।
त्यस्तै एसोसिएसनले दोलखा जिल्लाकै स्वास्थ्य चौकीहरुलाई अक्सिजन कन्सेन्ट्रेटरहरु पनि प्रदान गरेको छ। यसअघि कुनै पनि प्रकारका सहयोग प्राप्त नगरेका तथा कन्सेन्ट्रेटर नभएका स्वास्थ्यचौकीहरुलाई कन्सेन्ट्रेटर प्रदान गरिने जनाइएको छ।
अध्यक्ष अञ्जु पौडेलले १० लाख रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरिएको जानकारी दिइन्। एसोसियनले नेपालमा आइपर्ने विभिन्न आपतकालीन अवस्थामा सहयोग गर्दै आएको तथा यो सहयोग पनि निरन्तरताको प्रक्रिया भएको जनाएको छ। चीनमा कार्यरत नेपाली व्यवसायीहरुको सहयोगस्वरुप यी सामग्रीहरु हस्तान्तरण गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।